स्थानीय उपनिर्वाचनः कांग्रेस र एमालेलाई झड्का, मिसन ०८४ फलामको चिउरा बन्दै

राजनीति समाचार

काठमाडौं । भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको परिणामले ठूला दललाई चुनौति थपिएको संकेत गरेको छ । संख्यात्मक रुपमा ठूला दल अगाडि भए तापनि पहिलाको तुलनामा कांग्रेस र एमाले खस्किएका छन् । तेस्रो दल माओवादीले नाफा आर्जन गरेको छ । माओवादीसँगै स्वतन्त्र र अन्य दलहरुमा पनि सुधार देखिएको छ । केही सिटमा तलमाथि भए तापनि नेपाली कांग्रेसले आफ्नो वर्चस्व कायम गरेको छ भने दोस्रो ठूलो दल नेकपा एमाले स्थानीय उपनिर्वाचनमा तेस्रो बन्न पुगेको छ । त्यसको फाइदा माओवादी, अन्य दल र स्वतन्त्रले उठाएका छन् ।

स्थानीय उपनिर्वाचनको परिणामलाई हेर्दा आगामी २०८४ को निर्वाचन कांग्रेस र एमालेलाई फलामको चिउरा सावित हुने देखिन्छ । आर्थिक समृद्धि, सुशासन र भ्रष्टाचार रहित स्थिर सरकार निर्माण गर्ने मूल नारा लिएर कांग्रेस र एमाले दुई ठूला दल मिलेर सरकार बनाएका थिए । सरकारमा गएपछि त्यस्ता एजेन्डालाई बिर्सिएर राजनीतिक भागबन्डामा कर्मचारी सरुवा, बढुवादेखि हरेक राजनीतिक नियुक्ति गर्न थालेपछि जनतामा विश्वास गम्दै गएको छ । त्यसकारणले पनि कांग्रेसले पहिला जित हासिल गरेका अधिकांश स्थानमा पराजय भोग्नुपरेको छ । यतिबेला कांग्रेसमा संस्थापन पक्ष र इतरपक्षबीच लडाईँ चलिरहेको छ । उता अधिकांश नेताहरु भ्रष्टाचारलगायत विभिन्न ठगी काण्डमा मुछिएका छन् । नेतैपिच्छेको गुटबन्दीका कारण कार्यकर्ता र जनता निराश हुँदै गएका छन् ।

संगठनमा जुझारु र लोकप्रिय कार्यकर्तालाई पछि पारेर नातागोता र आसेपासेलाई काखी च्याप्ने प्रवृत्तिले पनि कांग्रेस दिनप्रतिदिन खिइँदै गएको छ । गुृटका कारण भित्रभित्रै आन्तरिक असन्तुष्टि झागिएको छ । तरुण दल, नेविसंघ, महिला, दलीत, आदिवासीजनजाति, मधेसी, मुस्लिमलगायत विभिन्न भ्रातृ संघ÷संगठनमा पनि आन्तरिक कलह त्यत्तिकै देखिन्छ । त्यसकै परिणाम होे स्थानीय तहको उपनिर्वाचनका नतिजा । त्योसँगै एमालेलाई पनि स्थानीय तहको उपनिर्वाचनमा केही धक्का लागेको छ । कांग्रेसभन्दा एमालेको संगठन बलियो छ भनिरहँदा स्थानीय तहको उपचिर्वाचनमा जति फाइदा लिनुपर्ने हो त्यो नतिजा देखिएन । सरकारमा हुँदा त उपनिर्वाचनमा फाइदा लिन सकेन भने सरकारबाहिर बसेर कसरी फाइदा लिन्छ ।

एमालेभित्र गुटकै कारणले पनि उपनिर्वाचनमा आफूले सोचेजस्तो नतिजा निकाल्न सकेको छैन । भित्रभित्रै गुट झांगिँदै गएकाले आन्तरिक कहलमा फस्दै गएको छ । एमालेमा सर्वशक्तिमान अध्यक्ष केपी ओली हावी हुँदा अन्य नेताहरु निराश हुँदै गएका छन् । त्यसमा पनि महासचिव शंकर पोखरेलको खेमा एकातिर हावी छ भने अर्कोतिर विद्या भण्डारी खेमा छ । त्यसले गर्दा एमालेको भावी अध्यक्ष को बन्ने भन्ने होडवाजी चलेको छ । भावी अध्यक्षको लागि शंकर पोखरेल र विद्या भण्डारीको चर्चा छ । तर, विद्या भण्डारी पूर्व राष्ट्रपति भएको नाताले पार्टीमा फर्कनेनफर्कने अझै निश्चित भइसकेको छैन । अध्यक्षको दावी विष्णु पौडेल र ईश्वर पोखरेलले नगर्लान् भन्न सकिँदैन । त्योसँगै अन्य नेताहरु पनि अध्यक्ष बन्ने दौडमा देखिएका छन् । त्यसले गर्दा पनि एमालेभित्र एकढिक्का देखिँदैन । त्यसैको असर हुनसक्छ अहिलेको स्थानीय तहको उपनिर्वाचनको परिणाम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *