यस वर्षको दशैं र तिहार चाडको विचमा संखुवासभा जिल्लामा साताव्यापी भ्रमण गर्ने अवसर मिलेको थियो । संखुवासभा जिल्लाको १० वटा स्थानीय तह मध्ये उत्तर तर्फ रहेको भोटखोला गाउँपालिकाको केन्द्र हटियासम्म पुग्ने योजना थियो । त्यहाँका जनप्रतिनिधिहरुकोलागि ३ दिवसीय तालिम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको थियो । यस स्तम्भको अघिल्ला श्रृखलाहरुमा काठमाडौं देखि तुम्लिङ्गटारसम्मको हवाइयात्रा यात्रा गरी भोजपुर तरी खाना खाएको, अनी मनकामना मन्दिर भ्रमण गरी खाँदवारी पुगेको, त्यसै गरी खाँदवारीबाट हटियाकोलागि यात्रा गर्दा गोलासम्म गाडीमा र त्यस पछि पैदल यात्राका प्रसङ्गहरु आए । यस श्रृखलामा हटियामा बसेको ३ दिन ४ रातलाई केन्द्र मानि लेख्ने कोसिस गरिएको छ ।
२०८१ कार्तिक ८ गते दिउँसो २ बजे तिर भोटखोला गाउँपालिकाको केन्द्र हटियामा पुगेका थियौं । ९ गते देखि जनप्रतिनिधिहरुकोलागि संसदीय अभ्यास सम्वन्धी तालिम आयोजना गरिएको थियो । तालिम कार्यक्रमको उद्घाटन सत्र संक्षिप्त आयोजना गरिएको थियो । भोटखोला गाउँपालिकाले हामी काठमाडौंबाट जानेहरुलाई खादा लगाई स्वागत गर्नु भएको थियो । परिचयबाट तालिमको विषयवस्तुहरु आरम्भ भयो ।
पहिलो दिनको प्रमुख सत्रको रुपमा भोटखोला गाउँपालिकाको अवस्था विश्लेषण राखिएको थियो । तालिमका सहभागी जनप्रतिनिधिहरुलाई साना समूहमा विभाजन गरी ५ वटा विषय क्षेत्र अनुसार छलफल गरिएको थियो । भोटखोलाको योजना तर्जुमा र कार्यान्वयनको अवस्था, कार्यपालिका र गाउँसभाको प्रकृया र प्रभावकारीता, कानून निर्माण र कार्यान्वयनको अवस्था, कर्मचारी व्यवस्थापन, र समितिको भूमिका सम्वन्धी विषयमा सवल पक्ष, कमजोरी, अवसर र चुनौती पहिचान गरिएको थियो ।
साना समूह कार्यलाई सामुहिक छलफलमा प्रस्तुत गरिएको थियो । यस क्रममा रोचक प्रस्तुतीकरण भएको थियो । जनप्रतिनिधि सम्मीलित विभिन्न समितिहरु बनेका तर किन बनेका भन्ने थाहा नभएको स्वीकारोक्ती थियो । गाउँ सभा र कार्यपालिकाको वैठक नियमित हुने गरेको पाइयो । कर्मचारी सवै शाखामा रहेको तर यहाँ वस्न नमान्ने प्रवृती रहेको चर्चा भयो । कर्मचारीहरु नयाँ आउने सिक्ने अनी सुगम तिर फट्कीने गुनासो जनप्रतिनिधिहरुको थियो । यो स्थानीय तहले प्रशासन क्षेत्रको प्रमुख प्रशासकीय अधिकृत नपाएको धेरै वर्ष भैसकेछ ।
अहिले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने स्वास्थ्य शाखाको प्रमुख हुनुहुँदो रहेछ । उहाँ पालिका भवन नबसी स्वास्थ्य कार्यालयको भवनमा नैं रहि प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गरिरहनु भएको छ । योजना तर्जुमाका सन्दर्भमा बस्ती तहमा जाने चलन खासै रहेनछ । तर गाउँसभा भने जस्तो वडा सभा गर्ने चलन पनि रहेछ । तर यी सभाहरुमा जनप्रतिनिधिहरु भन्दा वाहेकका पनि सहभागी हुँदा रहेछन् । योजना छनौटमा वाह्य पक्षको दबाब धेरै आउने गरेको चर्चा भयो । कानून निर्माणमा यो पालिका अग्रणी रहेछ । शिक्षा, करार, विपन्न नागरिक उपचार, कृषि लगायतका विषयगत कानूनहरु तर्जुुमा गरिसकेको रहेछ । हाम्रो भोटखोला राम्रो भोटखोला भन्ने परिकल्पना सहितको नारा तर्जुमा गरिएको रहेछ ।
तालिमको दोस्रो दिन नेता र नेतृत्वको विषयमा व्यवहारिक छलफल गरियो । यस क्रममा दृष्टिकोण सहितको प्रतिवद्धता, विषयगत ज्ञान सिप धारणा, स्रोतको व्यवस्थापन, सकारात्मक सोच चिन्तन र प्रभावकारी सञ्चारका विषयमा व्यापक छलफल भयो । तालिमको तेस्रो दिने प्रभावकारी गाउँ सभा सञ्चालनको प्रयोगात्मक अभ्यास गरिएको थियो ।
३ दिने तालिम प्रभावकारी भएको सहभागी भएका जनप्रतिनिधिहरुको प्रतिकृया थियो । अधिकांश वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले निर्वाचित भए पछि आफ्नो भूमिकासँग सम्वन्धीत कुनै तालिममा सहभागी हुने अवसर पनि नपाएका रहेछन् । यसकारण पनि उनीहरुकोलागी यो तालिम महत्वपूर्ण रहेको वताएका थिए । यो खाल्को तालिम निर्वाचित हुने वित्तिकै प्राप्त गर्न सकेको भए अझ उपलव्धीमूलक हुने बताएका थिए । सहभागी जनप्रतिनिधिहरुले चासोपुर्वक तालिममा सकृय सहभागी भएका थिए । तालिम उपलव्धी भएको उनीहरुको समिक्षा रहेको थियो । तालिमवाट महसुसीकरणमा जोड दिएको थियो । त्यसै गरी संसदीय अभ्यासका बारेमा प्रयोगात्मक अभ्यासले आफुले खेलेको भूमिकाका वारेमा तुलना गर्ने मौका मिलेको थियो । यस तालिमबाट साधान स्रोत परिचालन र व्यवस्थापनमा समेत झस्काएको थियो ।
तालिममा प्रयोगात्मक अभ्यास लगायत सहभागीतामूलक विधिहरुको प्रयोग भएकोले सहभागीहरुले चासोपूर्वक सहभागी भएका थिए । तालिम असाध्यै उपलव्धीमूलक भएको बताएका थिए । समापन सत्रमा वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र पालिका उपाध्यक्षले सम्वोधन गर्दा तालिममा सिकेको विषयलाई प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएका थिए । सोही अबसरमा तालिमका समग्र विषयहरुमा विवेचना गर्दै उपलव्धीमूलक भएको बताएका थिए ।
३ दिने तालिमको विषयवस्तुहरुको छलफल पश्चात सहभागीहरुलाई तालिममा छलफल भए अनुसारको के काममा परिवर्तन वा नयाँ के गर्नु हुन्छ भन्ने विषयमा छलफल गरिएको थियो । सो अनुसार जनप्रतिनिधिहरुबाट सामुहिक अठोट व्यक्त भएको थियो । कमजोर क्षेत्र र वर्ग केन्द्रीत योजना तर्जुमा र वजेट विनियोजनमा जोड दिने, उत्पादनमुखी कार्यक्रममा पहिलो प्राथमिकतामा राख्ने, हरेक वडाहरुमा एसइइ पास गरेको ४० वर्ष ननाघेको युवाहरुको विवरण लिने रोजगारमुखी कार्यक्रम सञ्चालन गर्ने, योजना तर्जुमाका सात चरणलाई पालना गर्ने र योजना छनौट गर्दा मापदण्ड वनाएर मात्र गरिने भन्ने सामुहिक प्रतिवद्धता जाहेर भएको छ ।
भोटखोला गाउँपालिकाको समग्र अवस्था विश्लेषणका आधारमा तालिम सञ्चालन गर्ने कोसिस भएको थियो । त्यसैले पनि तालिम व्यवहारिक भएको हो तर एक पटकको तालिमले सधैलाई सहयोग पुग्दछ भन्ने हुँदैन । यस तालिमबाट जनप्रतिनिधिहरुलाई केही झस्काएको छ । यसको आधारमा उनीहरुले प्रयोगात्मक अभ्यास गर्ने छन् । कम्तीमा हरेक वर्ष कोचिङ्ग तथा समिक्षात्मक तालिम सञ्चालन गर्नु अति आवश्यक देखिन्छ ।
भोटखोला गाउँपालिकाको केन्द्र हटिया वर्षा याममा गाडी चढेर पुग्न सकिन्न । यस स्थानीय तहको वार्षिक नीति कार्यक्रम र बजेटमा सडककालागि भनी बजेट विनियोजन गरेको पाइन्न । संघीय सरकारको योजनामा परेको किमाथांका जाने सडकको ट्याक खोल्ने काम भैरहेको छ । त्यसैलाई पूरा गर्न प्रदेश र संघ तिर जोड बल गर्ने नीति लिएको छ । यहाँको नेतृत्व आफुलाई जनसेवक हुँ भनी नीति तथा कार्यक्रममा नैं लेखेको छ । सडकमा वजेट विनियोजन नगर्ने र जनसेवक नेताको सन्दर्भमा एक छुट्टै लेख तयार गर्ने नैं छु ।
हटियामा ३ दिन र ४ रात बस्दा त्यहाँको सामाजिक र भौगोलिक अवस्थाको बारेमा केही जान्ने मौका मिल्यो । सडक नपुगेको पालिकाका विकास योजना र प्राथमिकताका वारेमा थाहा पाइयो । जनप्रतिनिधिको भावना, आकांक्षा र कार्यशैली नजिकवाट नियाल्न पाइयो । जनप्रतिनिधिहरुसँग अन्तरङ्ग कुराकानी र अन्तरकृया अविश्मरणीय रह्यो । यो खालको यात्रा अब सायदै हुन्छ होला । अर्को पटक भोटखोला जाँदा पैदल यात्राको अनुभव संगाल्न पक्कै पाइन्न । किनभने हटियासम्म नैं मोटरमा जानसक्ने अवस्था भैसक्नेछ । अरुणको सुसेल्याइ, आफ्नो पैतालाको आवाज सुन्दै अलैचि वगैचाको विचमा हिड्दै अरुण पारीको झरना चरीको चिरविरसँगै नियाल्ने मौका सायद आउँदैन । त्यसैले यो अवसर जुटाई दिने छिन्डुम मेनक्पा भोटे अनी भोटखोला गाउँपालिका परिवार लगायत यस पटकको यात्रामा भेटेका कुराकानी गरेका र सहयोग गर्ने सवैलाई धेरै धेरै धन्यवाद । मेरो जीवनमा भएका यात्रा मध्ये यो पनि एक यादगार रहने भयो ।