काठमाडौं । नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकारले देश र जनताको लागि राम्रो काम गर्न सकेको छैन । २०४६ देखि ०८१ सालसम्म आइपुग्दा नेपाली कांग्रेस र नेकपा एमालेले पटक–पटक सरकारको नेतृत्व गरे तापनि देशमा विकास र सुशासन कायम गर्न सकेनन् । कांग्रेस र एमाले मिलेर बनेको दुईतिहाई हाराहारीको सरकारले पनि पाँच महिना पार गरिसकेको छ ।
कांग्रेस र एमालेले सरकार बनाउनु पहिला देशमा आर्थिक समृद्धि ल्याउने, भ्रष्टाचार, विकृति, विसंगतिको अन्त्य गर्ने, सुशासन कायम गर्ने र राजनीतिक स्थिरता कायम गर्नेलगायतका प्रतिबद्धता जनाएका थिए । तर, दुई ठूला दलको सरकार बनेको पाँच महिना बितिसक्दा पनि त्यो प्रतिवद्धता अनुसारको काम हुन सकेको छैन । उल्टै भ्रष्टाचार, विकृति, विसंगति र महंगीले सर्वसाधारणलाई आक्रन्त बनाइरहँदा पनि सरकारले ध्यान दिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली देश र जनताको बारेमा काम गर्ने भन्दा पनि कहिले युरोप भ्रमण गर्ने, कहिले चीन भ्रमण गर्ने गरेर रमाइरहेका छन् । प्रधानमन्त्री ओली युरोप र चीनको भ्रमण सकेसँगै दक्षिणी छिमेकी मुलुक भारत भ्रमणको तयारी गर्दै छन् ।
तर, प्रधानमन्त्री ओलीले सोचेजस्तो उपलब्धी भने त्यो भ्रमणले पनि हासिल गर्ने देखिँदैन । नेपालका राजनीतिक पार्टीभित्र आन्तरिक कलहकै कारण जतिसुकै ठूला पार्टी मिलेर बनेको सरकार भए तापनि देशमा सुसान र विकासको काम अलपत्र परिराखेको छ । यस्तै स्थिति रहिरहने हो भने २०८४ सालको निर्वाचनमा कांग्रेस र एमालेको सिट घट्ने र राजनीतिक अस्थिरता कायम रहने देखिन्छ । त्यसको फाइदा उठाउँदै आगामी ०८४ को निर्वाचनमा अन्य भुरे, टाकुरे दलहरुले डेरा नजमाउलान् भन्न सकिँदैन ।