सहकारी प्रकरणमा राज्यको असमान व्यवहार

राजनीति समाचार

भ्रष्टाचार ठगी तथा राज्यद्रोह जस्ता कार्यहरूलाई सधैं दुरुत्साहित गर्नुपर्दछ । यस्ता कार्यले विधिको शासनलाई नै चुनौती दिइरहेको हुन्छ । सर्वसाधारण जनतालाई धोका दिएर भ्रष्टाचार गर्ने राज्य कोषमाथि दोहन गर्ने तथा सर्वसाधारण जनतालाई ठगी गर्ने जो कोहीलाई पनि कडाभन्दा कडा कारबाही हुनुपर्दछ । पछिल्लो समय सहकारी संस्थाहरू सर्वसाधारण जनताको बचत दोहन गरेर भाग्ने क्रम बढेर गएको छ ।

त्यसैगरी यस्ता ठगहरू उम्किँदै गएका छन् भने बचत डुबेर सहकारी पीडित आत्महत्या गर्ने अवस्थामा पुगेका छन् । पछिल्लो समय अधिकांश सहकारी डुबेर बसेका छन् र सर्वसाधारणको बचत फिर्ता गर्ने हैसियतमा छैन । यस्ता सहकारीको नियमन र नियन्त्रण गर्ने जिम्मेवारी बोकेको सरकारी संयन्त्र सहकारी विभाग भने उत्तानो टाङ लगाएर बसेको छ ।

यसरी सहकारीले जथाभावी लगानी गर्ने र सहकारीका मालिकहरू भाग्ने भइरहँदा पनि सहकारी विभागले के काम गरिरहेको छ भन्ने प्रश्न पनि सहकारी पीडितले गर्ने गरेका छन् । एकातिर नियमन नगर्ने सरकार नै नालायक छ भने अर्कोतिर सहकारी पीडितको बचत फिर्ता गराउन नसक्ने र सहकारी मालिकलाई कारबाही गर्ने सम्बन्धमा असमान व्यवहार गरेर आफ्नालाई ढाकछोप गर्ने अरुलाई कारबाही गर्ने प्रवृत्तिले सर्वसाधारण जनतालाई अझै रुष्ट बनाउने काम गरेको छ ।

हालै कास्की जिल्ला प्रहरी कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको छ । उक्त रायमा लामिछानेलाई सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद सजाय हुनुपर्ने उल्लेख गरिएको छ । सम्पत्ति शुद्धिकरणमा पनि कैद र जरिवानाको माग गरिएको राय पेश गरिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गरेको ८४ दिनपछि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइएको छ । लामिछाने सार्वजनिक पद धारण गरेका व्यक्ति भएका कारण प्रत्येक मुद्दामा थप सजाय पनि माग गरिएको छ ।

तर सहकारी प्रकरणकै विषयमा कांग्रेस उपसभापति धनराज गुरुङलगायतका अन्य विभिन्न नेताहरू जोडिएको सहकारी ठगीकाण्ड भने सरकारले नै सामसुम पार्ने काम ग¥यो । रवि लामिछाने गलत हुन सक्लान् त्यो एउटा पक्ष हो । तर सहकारी ठगी काण्डमा जोडिएका धनराज गुरुङ र ऋषिकेश पोखरेललगायतका नेताहरूको छानबिन र अनुसन्धान नै नहुनु सरकारको असमान व्यवहार हो । त्यसैगरी रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताइरहेका छन् । भ्रष्ट जोसुकै भएपनि कारबाही हुनुपर्छ । तर राजनीतिक प्रतिशोधका लागि गरिने असमान व्यवहारले विधिको शासनको मजाक बनाउने काम गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *