काठमाडौं । ठूला तीन दल कांग्रेस, एमाले र माओवादी केन्दमा नेतैपिच्छे गुट हावी भएपछि केन्द्रदेखि स्थानीय वडा तहसम्म गुटबन्दी झांगिँदै गएको छ । त्यसको असर भातृ, सुभेच्छुक तथा विभिन्न जनवर्गीय संगठनहरुमा पनि पर्दै गएको छ । त्यसको सिकार दलनिकट कर्मचारी संघसंगठनहरु बनेका छन् । कांग्रेस र एमाले निकट कर्मचारी संघ, संगठनमा गुटबन्दी भए तापनि त्यसले त्यति असर पारेको देखिँदैन । तर, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनभित्र पार्टीका नेता निकट गुटउपगुटले तहसनहस बनाएको छ । राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अमरदत्त भट्टलाई कर्मचारी संगठनको हित बिपरीत काम गरेको आरोप लागेको छ । अध्यक्ष भट्टले संगठनलाई चलायमान बनाउन नसेकेपछि राष्ट्रिय कर्मचारी संगठनमा आबद्ध भएका कर्मचारीहरु संगठन छोडेर एमाले निकट कर्मचारी संगठनतिर आकर्षित भएका छन् ।
अध्यक्ष भट्टलाई संगठनको निर्णयभन्दा आफूखुसी ढंगले चल्ने गरेको, सानो घेराको गुटमा रमाउने गरेको, विधि र विधान मिचेर काम गरेको, संगठनभित्र विकृति, विसंगतिलाई प्राथमिकता दिएकोलगायतका आरोप लगाउँदै एमाले निकट कर्मचारी संगठनमा आबद्ध हुनेहरुको लर्को लागेको छ । अध्यक्ष भट्टकै कारण राष्ट्रिय कर्मचारी संगठनबाट एमाले निकट नेपाल निजामती कर्मचारी संगठनतिर जानेहरु बढेका छन् । त्यसमा अर्जुन खतिवडा, कमल खत्री, राजबहादुर पछाईंँ, कृष्ण रायमाझीलगायत देशभरबाट एक हजारभन्दा बढी कर्मचारीहरु राष्ट्रिय कर्मचारी संगठन छाड्न वाध्य भएका छन् । यसरी ठूलो संख्यामा कर्मचारीहरु संगठन त्यागेर नेपाल निजामती कर्मचारी संगठनतिर जानुको मुख्य कारक अध्यक्ष नै रहेको समाचार सुत्रको दावी छ ।
नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनभित्रको विकृति, विसंगतिविरुद्धको समाचार तामाकोशी सन्देश साप्ताहिकले गत मंसिर १२ गते सम्प्रेषण गरेको थियो । सो समाचार सम्प्रेषण गर्ने क्रममा तामाकोशी सन्देशले सम्पर्क गर्न खोज्दा अध्यक्ष भट्टको फोनमा सम्पर्क हुन सकेको थिएन । सोही समाचारको विषयलाई लिएर अध्यक्ष भट्टले महासचिव डिलाराम खानालमार्फत् तामाकोशी सन्देश साप्ताहिक विरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएको जानकारी प्राप्त भएको छ ।
गत मंसिर १२ गते प्रकाशित समाचारमा संगठनभित्रका कर्मचारी तितरवितर भनिएको थियो । त्यो अहिले आएर सत्य सावित हुन पुगेको छ । डिलाराम खनाल पनि राष्ट्रिय कर्मचारी संगठनमा बसेर उठ्तीपुठ्ती धन्दा चलाउँदै आएका कर्मचारी भएको बताइन्छ । संगठनको नाम भँजाएर सरुवा, बढुवामा अन्य कर्मचारीहरुलाई सास्ती दिने काम गर्दै आएका थिए । खनाल लामो समयदेखि राजश्व अनुसन्धान विभागमा ठूला–ठूला व्यापारी र उद्योगीहरुसँग गाडी लिएर पैसा असुल्न जाने कर्मचारी हुन् । राजश्व अनुसन्धानमा बसेर अवैध तरिकाले कमाएको भारतस्थित ससुरालीमा राखेको बताइन्छ । खनाल तत्कालीन महानिर्देशक रामकृष्ण सुवेदीको पालादेखि राजअनुसन्धान विभागमा कार्यरत थिए । उता, राष्ट्रिय कर्मचारी संगठनको भवनको भूँइतलमा रेष्टुरेन्ट चलाइएकै छ ।
माथिल्लो तलामा पनि विश्व ट्रेड युनियन महासंघ, नेपाल राष्ट्रिय कर्मचारी महासंघ र पार्टीका जनवर्गीय संगठनलाई भाडामा दिएको देखिन्छ । राष्ट्रिय कर्मचारी संगठनको भवन नेपाल सरकारसँग जग्गा लिजमा बनाइएकोमा त्यसको नविकरणसमेत नभएको स्रोतको भनाइ छ । नेपाल सरकारको स्वामित्वमा रहेको जग्गामा बनाइएको घर भाडामा लगाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न सर्वत्र उठिरहेको छ । समाचार स्रोतका अनुसार गत मंसिर १२ गते तामाकोशी सन्देशमा प्रकाशित समाचारको विषयलाई लिएर बैठक बसेको समेत बताइएको छ । राष्ट्रिय कर्मचारी संगठनको भवनको भूँइतलमा खडा गरिएको रेष्टुरेन्टमा माओवादी निकट कर्मचारीदेखि नेता, कार्यकर्ताहरुको दिनहुँ घुइचो लाग्ने र त्यहीं बसेर कर्मचारी सरुवा बढुवादेखि पार्टीको संगठन विस्तार गर्नेसम्मको कुराकानी हुने गर्दछ ।