नेपाली राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको आवश्यकता किन ?

राजनीति समाचार

रामचन्द्र बस्नेत
नेकपा एमालेको राजनीतिबाट दुईपटक देशको राष्ट्रपति समेत बनिसक्नुभएकी विद्यादेवी भण्डारी फेरि राजनीतितिर आउने चर्चा चल्न थालेको छ । नेपालका कम्युनिस्टहरु छिन्नभिन्न भइरहेको अवस्थामा पूर्व राष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेको राजनीतिमा ल्याउने हल्लाले राजनीतिक वृत्तमा नयाँ तरङ्ग छाएको छ । खासगरी आन्तरिक गुट र फुटले छिन्नभिन्न हुृँदै गएका वामपन्थी पार्टीहरुलाई एक ठाउँमा गोलबद्द गराउनको लागि विद्या भण्डारीलाई अगाडि सार्न लागिएको बताइन्छ ।

तर, दुई÷दुई पटक राष्ट्रपति भइसक्नुभएकी भण्डारी पुनः एमालेको राजनीतिमा आउने नआउने एकिन भइसकेको छैन । केपी ओली अध्यक्ष भएपछि तहसनहस हुन लागेको एमालेलाई एकढिक्का बनाएर जोगाउन पनि भण्डारीको आवश्यकता खड्किएको छ । तर, एमालेका अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले भण्डारीको बाटो छेक्ने तरखर गरिरहेका छन् । तर, एमालेभित्रकै विष्णु पौडेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकुल बाँस्कोटालगायतका नेताहरुले पार्टीभित्र विद्या भण्डारीको आवश्यकता महसुस गरेका छन् ।

त्यसैगरी गुट र फुटले थलिएका अन्य वामपन्थी पार्टीहरुले पनि विद्या भण्डारीको नेतृत्वमा वामपन्थी एकतालाई जोड दिएका छन् । यदि विद्या भण्डारी राजनीतिमा फर्किएको खण्डमा नेपालका छिन्नभिन्न भएका वामपन्थी पार्टीहरु एक ठाउँमा गोलबद्ध हुने र वाम एकता हुने देखिन्छ । त्योसँगै तत्कालीन महासचिव स्व. मदन भण्डारीले परिकल्पना गरेको जनताको बहुदलीय जनवाद (जबज)को उदय हुने आँकलन गरिएको छ ।

त्योसँगै विद्या भण्डारीको स्वभाव र क्षमताले सबै वामपन्थी शक्तिहरुलाई एक ठाउँमा उभ्याउन सक्ने देखिन्छ । एमालेबाट बिच्किएर गएका माधवकुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाल, भीम रावललगायतका नेताहरुले पनि विद्या भण्डारीको नेतृत्वलाई स्वीकार्ने विश्लेषकहरुको आँकलन छ । यदि भण्डारी राजनीतिमा सक्रिय भएको खण्डमा पूर्व नेकपा पनि ब्यूँत्याउने सम्भावना बढिरहेको छ । तर, एमालेभित्र नेतैपिच्छेको गुटबन्दी र अवसरवादले गर्दा भण्डारीलाई पार्टीमा फर्काउन कठिन देखिन्छ । तर, नेपालको राजनीतिक र आर्थिक अवस्थालाई हेर्दा भण्डारीलाई राजनीतिमा ल्याउन जरुरी देखिन्छ । यदि भण्डारीले एमालेको नेतृत्व गर्ने हो भने नेपालका वामपन्थी शक्तिहरु एक ठाउँमा उभिने र देशले निकासा पाउने देखिन्छ । त्यसैले पनि एमालेमा भण्डारीको राजनीतिक आगमनको चर्चा चुलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *