काठमाडौं । विदेश भ्रमणमा रेकर्ड ब्रेक गरेका एक सहसचिवलाई सरकारले पुरस्कारस्वरुप सचिव बनाएको छ । उर्जा मन्त्रालयमा कार्यरत सहसचिव मधुप्रसाद भेटवाललाई बरियता मिचेर सचिव बनाएको हो,ओली सरकारले । भेटवाल पछिल्लो ९ महिनाको अवधिमा ८ पटक विदेश भ्रमण गरेको पाइएको हो । उनले सन् २०२२ को २९ अगस्टदेखि १ सेप्टेम्बरसम्म भारत, २–४ मे २०२३ मा भारत, ५–८ जुन २०२३ मा नर्वे, २७–३० मार्च २०२३ मा थाइल्यान्ड, १७–१८ फेब्रुअरी २०२३ मा भारत, १७–२२ अक्टोबर २०२३ मा भारत, १०–११ मे २०२३ मा बंगलादेश र पुनः भारतको भ्रमण गरेका छन् । खर्च नै नगरी विदेश भ्रमण गर्न पाइने र थप दैनिक भ्रमण भत्ता पनि अमेरिकी डलरमा आम्दानी हुने लोभले कर्मचारीहरू विदेश भ्रमणका लागि मरिहत्ते गर्ने नै भए ।
विशिष्ट श्रेणीका कर्मचारीले २२५ अमेरिकी डलर, सहसचिवले १७५ अमेरिकी डलर, उपसचिवले १५० अमेरिकी डलर, शाखा अधिकृतले १२५ अमेरिकी डलर र नायब सुब्बाले १ सय अमेरिकी डलर दैनिक भत्ता पाउने गर्छन् । यसरी वैदेशिक भ्रमणका लागि मरिहत्ते गर्ने उनै भेटवाल बरियता मिचेर सचिवमा उक्लिएका हुन । प्राविधिक सेवाको कर्मचारी बढुवा गर्दा प्रक्रिया मिचेर सरकारले सचिवमा बढुवा गरेको छ । यस अघि अवकाशको मुखमा रहेका डा. रामप्रसाद घिमिरेलाई २ साताको लागि सचिव बनाएकै शैलीमा फेरि मधु प्रसाद भेटवाललाई सचिव बनाइएको छ । यसरी बढूवा गरिँदा चरम अन्यायमा परेका छन्, दिनानाथ मिश्र,उनी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा प्राविधिक सचिवका रुपमा कार्यरत छन् । यस अघि सचिव बढूवा भएर घर फर्किएका रामप्रसाद घिमिरे खानी तथा चुनढुंगा दोहन प्रकरणमा भ्रष्टाचार मुद्दा लागेर सफाइ पाएका व्यक्ति हुन ।
उनैलाई बरियता मिचेर ओली सरकारले पुरस्कृत गरेको थियो । अहिले फेरि बूढीगण्डकी,पञ्चेश्वर जलविद्युत परियोजनामा पसेर कुस्त कमाएका भेटवाललाई प्रक्रिया मिचेर सचिव बनाइएको हो । लोकसेवा अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले प्राविधि सचिव बढुवाका लागि पहिलो नम्बरमा सहसचिव मिश्र, दोस्रोमा भेटुवाल र तेस्रोमा चिरञ्जीवी चटौतको नाम सिफारिस गरेको थिए। तर, सरकारले पहिलो नम्बरमा सिफारिस भएका मिश्रलाई अन्याय गर्दै दोस्रो नम्बरमा सिफारिस भएका भेटुवाललाई सचिवमा बढुवा गर्दा मिश्र अन्यायमा परेका छन् । अब उनी झण्डै पाँच महिना ढिलो गरीमात्र सचिवमा बढुवा हुनेछन् । ०८२ जेठ ५ मा भेटुवाल अवकाशमा गएसँगै बल्ल मिश्र सचिवमा उक्लन पाउनेछन् ।
उसो त सचिव बढुवा गर्दा कर्मचारीको अनुहार हेरेर गर्ने पूरानै परिपाटी हो । यस अघि उनै ओली प्रधानमन्त्री हुँदा अहिलेका गृह सचिव गोकर्णमणि दुवाडीको नाम पाँच पटकसम्म बढुवा सिफारिस हुँदा सचिव बनाइएको थिएन । सरकारले प्रशासकहरुलाई पोस्नकै लागि कसैलाई एक दिन,कसैलाई चार दिन त कोहीलाई साता,दुई साताको लागि सचिव बनाउँदै आएको छ । जस्तो ः अहिले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष रहेका महाश्रम शर्मालाई अवकाश कै दिन सचिवमा बढुवा गरिएको थियो । यस्तै अर्थ मन्त्रालयका सहसचिव सूर्य आर्चायलाई पनि अवकाशको ३ दिन अगाडि सचिव बढुवा गर्ने निर्णय गरिएको थियो ।
अवकाशको ४ दिन अगाडि शंकरप्रसाद खरेललाई पनि बरियता मिचेर सचिव बनाइएको थियो। सचिव बढुवाको सिफारिसमा तेस्रो नम्बरमा रहेका खरेललाई ४ दिने सचिव बनाउने शुक्रबार मन्त्रिपरिषद्को बैठक बोलाएर बढुवा गर्ने निर्णय गरिएको थियो । रामचन्द्र पौडेल निकट ४ दिने सचिव खरेल अहिले निर्वाचन आयोगको आयुक्त वा दिनेशकुमार थपलियापछिको प्रमुख निर्वाचन आयुक्त भएर जाने खेलोमेलोमा छन् । यस्तै श्री आचार्यले पनि बरियता मिचेर १ हप्ते सचिव बनाएको थियो सरकारले । अहिले लोक सेवा आयोगको सदस्य रहेका वीरबहादुर राईलाई पनि बरियता मिचेर ३ हप्ते सचिव बनाईएको थियो । बरियता मिचेर केही दिने सचिव बनाउने यो विकृत प्रवृत्तिले अहिले पनि निरन्तरता पाएको छ । त्यसको लाभ लिनेको सूचीमा थपिएका छन्, मधु प्रसाद भेटवाल, रामप्रसाद घिमिरेहरु ।