काठमाडौं । राज्यको चौथो अंग भनेर चिनिने पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको सदस्यता विवाद निकालेर सत्ताधारी दलहरुले तोकेका उम्मेदवारले जित्ने निश्चित नहुन्जेलसम्म पटक–पटक स्थगित गरिदिँदै आइएको अधिवेश गत मंसिर २८ गते सम्पन्न भएको छ । पत्रकार महासंघहो सो अधिवेशनमा केन्द्रीय समितिमा सत्ताधारी दल निकट पत्रकारहरुले जित हासिल गरेका थिए भने अधिकांश प्रदेश र जिल्ला शाखाहरुमा प्रतिपक्षी दल माओवादी निकट पत्रकारहरुले जित हासिल गरेका थिए । केन्द्रामा जिताउन कांग्रेस र एमाले निकट नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका अध्यक्षहरु लागि परेका थिए भने जिल्ला शाखा प्रदेशहरुमा माओवादी पत्रकारलाई जिताउन तिनै प्रेस युनियन र प्रेस चौतारीको केही नेताहरु हात धोएर लागिपरेका देखिन्थे ।
केही प्रेस युनियन र प्रेस चौतारीबाट टिकट लिएका आधिकारिक उम्मेदवारलाई हराउनको लागि पनि यिनै संगठनका केही नेताहरु लागि परेका थिए । महासंघको सो अधिवेशनमा टिकट वितरणमा प्रेस युनियन र प्रेस तौतारीभित्रको आन्तरिक कलहले गर्दा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरले नसोचेको फाइला उठाएको छ । प्रेस युनियन र प्रेस चौतारीले प्रेस सेन्टरले एकलौटी ढंगले गैरपत्रकारलाई सदस्यता वितरण गरेको आरोप लगाएर लामो समयदेखि महाधिवेशन भाड्दै आएको थियो । पछि आएर प्रेस युनियन र प्रेस चौतारी मिलेपछि माओवादी पत्रकारलाई पत्तासाफ पार्ने योजनामा चुनावी मिति तय भएको थियो ।
तर, सो चुनावमा पनि प्रेस युनियन र प्रेस चौतारीका नेतृत्वप्रतिको असन्तुष्टिले गर्दा माओवादी पत्रकारहरु नै महत्वपूर्ण पद र ठाउँमा जित हासिल गर्न सफल भयो । तर, जुनसुकै दल निकट पत्रकारहरुले जितेपनि केहीबाहेक अधिकांश पद जित्न वास्तविक श्रमजीवी र स्वरोजगारमुलक पत्रकारभन्दा एनजिओ, आईएनजिओमा कार्यरतहरु सफल भएका छन् । पत्रकार महासंघलाई स्वतन्त्र श्रमजीवी पत्रकारहरुको छाता संस्था भनिए तापनि पद हस्तान्तरण गर्न विभिन्न राजनीतिक दलका नेताहरु ल्याएर पार्टीको भ्रातृ संस्था जस्तो बनाइएको थियो ।
पत्रकार महासंघ केन्द्रमा वधाइ तथा सम्मानको लागि कांग्रेसबाट जीवन परियारलाई अतिथि बनाइएको थियो भने एमालेबाट नेता ईश्वर पोखरेललाई अतिथि बनाइएको थियो । सो सम्मान कार्यक्रममा कांग्रेस र एमाले नेतालाई अतिथि बनाइरहँदा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका नेताहरुले भने. ‘नेपाल पत्रकार महासंघ सबै पत्रकारहरुको स्वतन्त्र संस्था हो, यो कुनै राजनीतिक दलको भ्रातृ तथा शुभेच्छुक संस्था होइन’ भन्दै भाषण दिइरहेको देखिन्थ्यो । त्यस्तै देशकै सबैभन्दा ठूलो शाखा भनेर चिनिने नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले यही पुस १९ नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको थियो ।
सो पद हस्तान्तरण कार्यक्रममा जितको पद र संख्या अनुसारका नेता राजनीतिक भागबन्डाको आधारमा अतिथि बोलाइएको थियो । अध्यक्ष माओवादीको जित भएकाले पार्टी अध्यक्ष पुष्पकमल दालाहा प्रचण्डलाई बोलाइएको थियो भने कांग्रेसबाट अर्जुननरसिंह केसी र एमालेबाट पार्टीका प्रमुख सचेतक महेश बर्तौलालाई बलाइएको थियो । यसले के देखाउँछ भने नेपाल पत्रकार महासंघलाई स्वतन्त्र पत्रकारहरुको छाता संगठन भन्ने शब्द ‘हात्तीको देखाउने एउटा, चपाउने अर्को दाँत’ सावित भएको छ ।