काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुलाई सुस्त गतिमा काम गरेको आरोप लगाइरहँदा कर्मचारीहरु सरकारप्रति अनन्तुष्ट बनेका छन् । प्रधानमन्त्री कार्यालयले गृहमन्त्रालय र संघीयमामिला मन्त्रालयमा बरन्डामा थन्किएर बसेका कर्मचारीहरुलाई तुरुन्तै जिम्मेवारी दिएर पठाउन निर्देशन दिएतापनि गृहमन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबिच समन्वयकारी भूमिका हुन सकेको छैन । गृहमन्त्रालयले अध्यागमन कार्यालयमा कर्मचारीको सेटिङ गरिरहेको छ भने संघीय मामिला तथा सामान्य प्र्रशासन मन्त्री र सचिवबिचको समन्वय हुन सकेको छैन । समन्वय नभएकै कारण सचिव फेरबदलको चर्चा चलिरहेको छ ।
त्यसैगरी एमालेले सम्हालेका मन्त्रालयमा कांग्रेसी कर्मचारीको हावी छ भने कांग्रेसले सम्हालेको मन्त्रालयमा एमालेनिकट कर्मचारीहरुको हावी भएको छ । कांग्रेस र एमाले सरकारमा दुबै संगठनका कर्मचारी हावी हुँदा मन्त्रीहरुले सोचे अनुसारको काम गर्न सकेका छैनन् । संघीय सरकारका अधिकांश मन्त्रालयमा मन्त्री र कर्मचारीबिच समन्वय नहुँदा अधिकांश सेवाग्राहीहरु मारमा परिरहेका छन् ।
सिंहदरबारभित्रका अधिकांश मन्त्रालयमा विहान १० बजेदेखि ४ बजेसम्म कुर्सीमा कर्मचारी नै भेटिँदैन । कर्मचारी आउने र विभिन्न बहानामा हाटा गर्ने काम भइरहेको छ । सरकारले कर्मचारीहरुलाई खाजा खाने समय १ बजेदेखि २ बजेसम्म तोकेतापनि कर्मचारीहरु नियमको पालना नगरी खाजा खाइसकेर पनि गफमा घण्टौ बिताइरहेका हुन्छन् । त्यस्तै अधिकांश मन्त्रीहरु पनि आ–आफ्ना मन्त्रालयमा उपस्थित नभइ भाषण र कार्यक्रममै व्यस्त हुने गरेका छन् ।
अधिकांश कांग्रेस र एमालेले सम्हालेका मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयमा बढि मात्रामा भ्रष्टाचार हुने गरेको छ । उद्योग, राजश्व, भन्सार, यातयात, कम्पनी रजिस्ट्रार, बैदेशिक रोजगार विभाग, मलपोत, नापी जस्ता कार्यालयहरुमा बिचौलिया र कर्मचारीहरुको सेटिङ हुने गरेको छ । तर अख्तियार र राष्ट्रिय सतर्कता केन्द्र निदाएर बसेको अवस्था छ । यस्ता महत्वपूर्ण कार्यालयमा कार्यरत कर्मचारीहरुले सेवाग्राहीहरुलाई विभिन्न बहानमा झुलाउने र बिचौलियालाई प्रयोग गरी पैसा असुल्ने धन्दा फस्टाइरहेको छ ।