काठमाडौं । सहकारी ठगी काण्डका घटनाले यतिबेला देशैभरिका निक्षेपकर्ताहरुको उठिवास लागिरहेको समाचार आइरहेका छन् । कतिपय सहकारीका सञ्चालक प्रहरी हिरासतमा रहेका छन् भने कतिपय विदेशमा लुकिछिपी बसेका छन् । खासगरी सहकारी ठगी गर्नेहरुमा राजनीतिक दलका नेता र ठूला उद्योगी व्यवसायीहरु छन् । त्योसँगै सहकारी सञ्चालकहरु अग्रपत्तिमा रहेका छन् । धेरैजसो उद्योगी, व्यापारी, भ्रष्टाचारी र भूमाफियाहरुहरुले सहकारीमा जति ठूलो रकम जम्मा गरेतापनि आयस्रोत देखाउनु नपर्र्ने भएकाले सहकारीमा पैसा जम्मा गर्दै आएका थिए ।
कतिपयले भ्रष्टाचार र कालाबजारी गरेर अवैध रुपमा आर्जन गरेको पैसा सहकारीमा जम्मा गर्ने गरेका थिए । त्यसरी ठूलो मात्रामा सहकारीमा पैसा जम्मा गर्ने व्यक्तिहरुको आयस्रोत पनि सरकारले खोज्न सकेको छैन । दिनभरिको कमाइबाट सय, पचास रुपैयाँ जम्मा गरेर सर्वसाधारणले बचत गर्ने र गर्जो टार्ने उद्देश्यले खोलिएका सहकारी संस्था पछिल्लो समय चोरीतस्करी, भ्रष्टाचार र कालाबजारी गरेर आर्जन गरेको अवैध धनलाई वैध बनाउने थलो बनाउँदै लगेका थिए ।
सहकारी ठगीमा सञ्चालकसँगै कांग्रेस, एमालेलगायत विभिन्न पार्टीका शीर्ष नेताहरु मुछिएका छन् । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछाले सहकारी ठगीमा मुछिएर तीन महिनादेखि प्रहरी हिरासतमा रहेका छन् । रविमाथि सहकारी ठगीसँगै सम्पत्ती सुद्धिकरणसम्बन्धी थुनछेकको मुद्दासमेत चलिरहेको छ । तर, सहकागरी ठगीमा मुछिएका राजिव पहाडी, ऋषिकेशपन्ती अञ्जला, कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषिकेष पोखरेललाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन सकेको छैन । राजनीतिक दलहरु संलग्न नभएका सहकारीहरुले सञ्चालक र विचौलियाहरुको मिलेमतोमा सर्वसाधारणले जम्मा गरेको रकम हिनामिना गरेर फरार रहेका धेरै उदाहरणहरु छन् ।
तर, इमानदार सञ्चालकहरुले सञ्चालन गरेका केही सहकारी संस्थाहरु भने अहिले पनि राम्रोसँग चलिरहेका छन् । निरन्तर सञ्चालनमा रहेका त्यस्ता सहकारीहरुले सर्वसाधारणको चुल्हो बाल्न, गर्जो टार्न मद्दत गरिरहेका छन् । त्यसको गतिलो उदाहरण बनेको छ कागेश्वरी मनोहरा–७, गोठाटारमा सञ्चालित सद्भाव कृषि सहकारी संस्था लिमिटेड । सो सहकारी संस्थाले यही पुस २० गते आफ्नो स्थापनाकालको १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रममा सद्भाव सहकारीका अध्यक्ष, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिले आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष जयबहादुर बस्नेतले सद्भाव सहकारीमा हालसम्म ९०१ जना सेयर सदस्य रहेको उल्लेख गर्दै गत आर्थिक वर्षमा सम्पन्न साधारण सभाको निर्णयलाई कार्यान्वयन गर्ने सिलसिलामा केही सेयर सदस्यहरुले मात्र सेयर थप गरेको र बहुसंख्यक शेयरधनीहको सेयर यथाबत रहेको प्रष्ट पारेका थिए ।
कार्यक्रममा अध्यक्ष बस्नेतले सो सहकारीमा मुद्दति, मासिक, साधारण, बाल, दैनिक र आकस्मिक जस्ता बचतकर्ताको उत्साहजनक सहभागिता रहेकोप्रति खुसी व्यक्त गरेका थिए । उता कोषाध्यक्ष राजु बस्नेतले संस्थाको आर्थिक प्रतिवेदन प्रश गर्दै आ.ब. २०८०÷८१ को लेखा परीक्षण र आ.ब. २०८१÷८२ को लागि सञ्चालक समितिबाट प्रस्तावित अनुमानित वार्षिक बजेट प्रस्तुत गरेका थिए । त्यस्तै बस्नेतले आर्थिक वर्ष २०८०÷८१ मा कूल सेयर रकम ८३ लाख ७५ हजार पुगेको जनाउँदै आ.ब. २०८०÷८१ को अन्तसम्ममा १ करोड ९२ लाख ९८ हजार ११३ रुपैया बचत भएको बताएका छन् । आ.ब. २०८०÷८१ मा विभिन्न उद्देश्यका लागि शेयर सदस्यहरुलाई २ करोड ५१ लाख ४ हजार एक सय रुपैयाँ ऋण प्रवाह भएको जनाएका थिए ।
त्यस्तै संस्थाको आ.ब. २०८०÷८१ मा ऋण लगानीबाट आएको ब्याज ३४ लाख ३ हजार ६७ रुपैयाँ र बैंक डिपोजिटबाट १ लाख ५५ हजार ब्याज, नविकरण र सेवा शुल्कबाट ३ लाख १२ हजार ३ सय असी अन्य आम्दानीबाट १३ हजार ३ सय गरी ३२ लाख ८६ हजार ७ सय रुपैयाँ आम्दानी भएको लेखा प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी आ.ब. २०८०-८१ को अन्त्यसम्ममा संस्थाले ४३ लाख ४८ हजार रुपैयाँ बैंक मौज्दात रहेको प्रतिवेदनमार्फत् सार्वजनिक गरेको छ ।