काठमाडौं । पछिल्लो समय खाद्यान्नलगायत विविध सामाग्रीहरु महंगी भइरहँदा निर्माण सामग्रीको मूल्य ठूलो मात्रामा बढेको देखिन्छ । निर्माण सामग्रीको मूल्य बढेसँगै प्रतिनिधिसभाअन्तगृतको लेखा समितिले उद्योग मन्त्रालयसँग जवाफ माग्ने भएको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय सिमेन्ट, छडलगायत निर्माण सामग्रीको मूल्य बढ्नुको कारणबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग जवाफ माग्ने भएको हो ।
समितिको बैठकमा अधिकांश सांसदले निर्माण सामग्रीमा अचाक्ली मूल्यवृद्धि भएको विषय उठाएका थिए । बैठकपछि समिति सभापति ऋषिकेश पोखरेलले सिमेन्ट, छडलगायत वस्तुको मूल्य वृद्धिबारे मन्त्रालयलाई छलफलमा बोलाउन निर्देशन दिएका छन् । समितिमा परेका उजुरीहरुको प्राथमिकता निर्धारण गर्ने र बढी महत्त्वपूर्ण उजुरीलाई समितिमा चाँडो पेश गर्नका लागि ती उजुरीको अध्ययन गर्न सांसद सञ्जयकुमार गौतमको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गर्ने भएको छ ।