सहकारी रकम अपचलनको आरोपमा जिससका प्रमुख थापा पक्राउ

प्रशासन समाचार

काठमाडौं । म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब डेढ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई पक्राउ गरेको छ ।

सहकारीका निवर्तमान उपध्यक्ष समेत रहेका थापा गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहित बचतकर्ताको रकम हिनामिना गरी हिसाब मिलान नगरेको आरोपमा उनलाई प्रहरीले आइतबार बिहान ९ बजे पक्राउ गरेको हो । सहकारीको ठूलो रकम अपचलन हुँदापनि राजनीतिक शक्ति र पहुँचको भरमा थापामाथि अनुसन्धान प्रक्रिया अगाडि नबढाइएको आरोप रहेको थियो ।

नेकपा एमालेबाट समन्वय समितिमा निर्वाचित थापाले आफू उपाध्यक्ष छँदा सहकारीको रकम आफ्नो बोर्डिङ स्कुल, जग्गा खरिद तथा व्यक्तिगत प्रयोजनमा लगाएको सहकारी रजिस्ट्रारको कार्यालयले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कुमारी सहकारीमा करिब ६ हजार जना बचतकर्ताको रकम हिनामिना भएको उजुरी परेपछि रजिस्ट्रारको कार्यालयले हिसाब मिलाउन एक वर्षको समय दिएको थियो ।

तर, त्यो अवधिमा केही रकम सहकारीमा फिर्ता गरेपनि अपचलन भएको रकम मिलान नभएपछि रजिस्ट्रारको कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको हो ।
कर्जाको सिस्टममा ब्याजदरसमेत शून्य प्रतिशत कायम गराएर झण्डै १५ करोड रुपैयाँ रकम दुरुपयोग भएको पाइएको छ । सहकारी रजिस्ट्रारको कार्यालयका अनुसार यो सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घर जग्गामा लगाउने जस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको झण्डै १२/१५ जनाको मुख्य संलग्नता देखिने भएपनि मुख्य अपचलनमा संलग्न रहेको भन्दै थापालाई पक्राउ गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *