स्वास्थ्य मन्त्रालयद्वारा एकीकृत प्रणाली लागुको तयारी

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीको स्वास्थ्य परीक्षण कम्प्युटर प्रणालीमा हेर्न मिल्ने एकीकृत प्रणाली लागु गर्ने तयारी अघि बढाएको छ ।

हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्यांक नहुँदा उपचारमा कठिनाइ देखिएको जनाउँदै मन्त्रालयले एकीकृत राष्ट्रिय प्रणालीमा सबै स्वास्थ्य संस्थाको अभिलेख प्राप्त गर्ने व्यवस्था मिलाउन लागेको हो । त्यसका लागि सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरूले विद्युतीय चिकित्सा अभिलेख प्रणालीमा बिरामीको स्वास्थ्य विवरण कम्प्युटरमार्फत् इन्ट्री गर्नुपर्ने हुन्छ ।

त्यसमा बिरामीको नाम, ठेगाना, उमेरदेखि स्वास्थ्य समस्या, उपचार विधि, प्रयोग गरिएको औषधि लगायत सबै विवरण राखिन्छ । अधिकारीहरूका अनुसार यो कार्यान्वयनमा आए बिरामीले अस्पताल जाँदा आफ्नो स्वास्थ्य रिपोर्टसहितका कागजपत्र बोक्नुपर्दैन, एउटा कोड नम्बर बोके पुग्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रणाली कार्यान्वयनमा आउँदा स्वास्थ्य संस्थामा बिरामी प्रवेश गरेदेखि उपचार हुँदा र बाहिरिँदासम्मको विवरणका साथै प्रयोगशालाका रिपोर्टहरूसमेत विद्युतीय प्रणालीमा सुरक्षित रहने बताएका छन् ।

उपचार गर्न नेपालको जुन अस्पतालमा गएपनि बिरामीको कोड नम्बर इन्ट्री गरेपछि उसको सबै हिस्ट्री पत्ता लाग्नुका साथै सूचना प्रणालीमा बिरामीको हिष्ट्री, जाँच, चलाइएको औषधि तथा उपचारका लागि भविष्यमा गर्ने योजना एकै ठाउँमा संकलित हुने मन्त्री पौडेलले बताएका छन् । २०७९ को नीति तथा कार्यक्रममा सबै सरकारी अस्पतालमा ‘एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली’ (ईएचआर) लागु गर्ने उल्लेख थियो । तर कार्यविधि नबनेकाले यो कार्यान्वयनमा आएको थिएन ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई डिजिटल बनाउँदै लैजाने कार्यलाई थप व्यवस्थित र मर्यादित बनाउन एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली (ईएमआर) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१ ल्याएपछि कार्यान्वयनको बाटो खुलेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *