काठमाडौं । काभ्रेको रोशी खोला क्षेत्रको सिमाना छुट्याउने क्रममा पनौती नगरपालिका, नापी कार्यालय तथा भूमि व्यवस्थापन तथा प्रशिक्षण केन्द्रका कर्मचारीहरुले काम जारी राखेका छन् ।
गत असोज महिनामा आएको बाढीपहिरोले जग्गाको साँधसिमाना मेटिएकोहुँदा त्यसैले खोला क्षेत्र, व्यक्ति र सार्वजनिक जग्गाको सिमाना छुट्याउन लागिएको हो । हालसम्म पनौती नगरपालिका–१२ मा पर्ने बैरामहादेवदेखि त्रिवेणीघाटसम्मको ९ किलोमिटर क्षेत्रमा सिमांकनको काम सकिएको छ । व्यक्ति र सार्वजनिक जग्गाका कित्ता पुनःस्थापना गर्न भने अझै तीन महिना लाग्नसक्ने अनुमान गरिएको छ । यसअघि नगरपालिकाले जग्गाको सिमाना मेटिएका व्यक्तिहरुलाई निवेदन दिन आह्वान गरे अनुसार ३ सयभन्दा धेरै व्यक्तिले निवेदन दिएको पनौती नगरपालिकाका प्रमुखले जानकारी दिएका हुन् ।
ढुंगा, गिट्टी र बालुवा थुप्रिँदा खोलाको सतह उठेकाले गेगर नझिकी अन्य कित्ता छुट्याउन समस्या देखिएको नापी कार्यालय काभ्रेका प्रमुख नापी अधिकृतले बताएका छन् । नापजाँचमा नापी कार्यालय काभ्रेबाट इन्जिनियर नापी अधिकृत गृष्म प्रधान, इन्जिनियर नापी अधिकृत मदन खत्री, अमिन संगिता बस्नेत र अमिन राकेश मानन्धर, भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रबाट प्रशिक्षक विज्ञान बञ्जारा सहितको टोली सहभागी छ । यस्तै पनौती नगरपालिकाबाट अधिकृत ईश्वर कार्की सहितको टोलीको सहभागीता रहेको छ ।
गत असोजमा अविरल वर्षासँगै आएको बाढी पहिरोले काभ्रेको पनौती नगर क्षेत्रमा मात्रै १८ जनाको मृत्यु भएको थियो । पाँच सय ८६ घर पूर्ण र नौ सय ४४ घर आंशिक रुपमा क्षतिग्रस्तहुँदा ११ हजार ६ सय ३७ रोपनी बराबरको खेतबारीमा पनि क्षति पुगेको नगरपालिकाले जनाएको छ । यसैगरी साधारण निर्माणमुखी रोडा ढुंगा उद्योगहरुबाट प्रयोग भइरहेको जग्गामा चालु आर्थिक वर्ष २०८१/८२ का लागि लाग्ने सम्पत्ति करमा ५० प्रतिशत छुट दिने निर्णय नगरसभाले गरेको जानकारी दिएको छ ।