काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा.बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन् ।
काठमाडौंमा जारी पार्टीको प्रथम महाधिवेशनमा संयोजक भट्टराईले आफू नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्न चाहेको बताएका हुन् ।
महाधिवेशनको उद्घाटन सत्रपछि सोमबार बिहान बसेको सचिवालय बैठकमा भट्टराईले तेस्रो पुस्तालाई नेतृत्व हस्तान्त्रण गरेर आफु वैचारिक नेताको भूमिकामा बस्ने निर्णय गरेका थिए ।
सचिवालय बैठकमा अधिकांश नेताहरूले वैकल्पिक शक्तिहरू ध्रुवीकरणको क्रममा नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्न प्रस्ताव गरेपछि भट्टराई अध्यक्षमा उम्मेदवारी दिन तयार भएको पार्टीका एक नेताले जानकारी दिएका छन् । आइतबारबाट काठमाडौंमा सुरु भएको महाधिवेशन मंगलबारसम्म चल्नेछ । उद्घाटन सत्र सकिएपछि आइतबार नै बन्दसत्रको कार्यक्रम सुरु भएको छ ।
आइतबार नै प्रथम महाधिवेशनमा आयोजक कमिटी भंग गरेर पाँच सदस्य अध्यक्ष मण्डल चयन गरिएको छ । अध्यक्ष मण्डलमा भक्तबहादुर शाह, दुर्गा सोब, सिर्जना रिजाल, महेन्द्र श्रेष्ठ र चिनक कुर्मी रहेका छन् । यो अध्यक्ष मण्डलले महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि छलफल गराएर निष्कर्ष निकाल्नेदेखि नयाँ नेतृत्व चयन सम्मको कार्य पूरा गर्नेछ ।
सातवटा समूहमा राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमा छलफलपछि आज रिपोर्टिङको एजेन्डा रहेको छ । महाधिवेशनले अध्यक्ष, पाँच उपाध्यक्ष (एक महिला, एक जनजाति, एक मधेशी, एक खसआर्य र एक दलित), महासचिव, तीन सचिव र कोषाध्यक्ष सँगै ९९ सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्नेछ ।