फागुन महिनाका लागि सार्वजनिक गरेको सूचीअनुसार १८ वटा बैंकको ब्याजदर स्थिर

अर्थ/वाणिज्य बैंक समाचार

काठमाडौं । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि सार्वजनिक गरेको सूचीअनुसार पछिल्लो केही महिनादेखि ब्याजदर घट्ने क्रम रोकिएकोले १८ वटा बैंकहरुको ब्याजदर स्थिर रहेको छ । ग्लोबल आईएमई बैंकको ब्याजदर बढेको छ भने लक्ष्मी सनराइजको घटेको छ ।

यसअघि माघ महिनामा पनि १८ बैंकको ब्याजदर स्थिर थियो । पुस महिनामा १४ बैंकको स्थिर थियो भने मंसिर महिनामा ८ बैंकले स्थिर राख्दा ११ बैंकले घटाएका थिए । विगतका महिना अत्याधिक घट्दै गएको ब्याजदर पछिल्ला २ महिनादेखि घट्ने क्रम रोकिएको छ । समग्रमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर माघ र फागुनको बराबर रहेको छ । बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६ प्रतिशत रहेको छ । माघमा पनि ६ प्रतिशत नै थियो ।

व्यक्तिगत मुद्दतीमा ५ वर्षमाथिको अवधिका लागि केही बढी ब्याजदर तोकिएको छ भने न्यून अवधिको ब्याजदर पनि कम छ । फागुन महिनाका लागि व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर एनएमबी र एनआईसी एसियाको सबैभन्दा धेरै ६ दशमलव ६ प्रतिशत रहेको छ । जुन लामो अवधिका लागि हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष साउनदेखि पुस मसान्तसम्म कुल दुई खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेकाले बैंकहरूले ब्याजदर स्थिर राखेका छन् । अबका केही महिना नै ब्याजदर प्रायः स्थिर नै रहने अनुमान गरिएको छ । पछिल्लो पटक बैंकहरुबाट जाने कर्जा रकम भने बढ्न थालेको छ । यहीं कारण बैंकहरूले ब्याजदर घटाउन रोकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *