काठमाडौं । मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले लक्ष्य अनुसारको राजश्व संकलन नभएको कारण देखाउँदै बजेट रोक्का गर्ने तयारी गरेको छ ।
मन्त्रालयसहितका निकायमा पत्र पठाउँदै बिहीबार चालु आर्थिक वर्ष २०८१/८२ अनुमानित लक्ष्य अनुसार माघ मसान्तसम्म आन्तरिक स्रोततर्फ मात्र २८ दशमलव ५३ प्रतिशतको राजश्व संकलन हुँदा बजेट रोक्ने चेतावनी दिएको हो ।
त्यस्तै, संघीय सरकारले उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ताबाट केवल १३ दशमलव२४ प्रतिशत मात्र प्राप्त हुने जानकारी आएको उल्लेख गरिएको छ ।
समग्रमा, कुल आय अनुमानको ३० दशमलव ३५ प्रतिशत मात्र प्राप्त भएकोले प्रदेश संचित कोषमा न्यून मौज्दात रहेको र भुक्तानीमा चाप पर्न सक्ने सम्भावना देखिएकाले अर्थ मन्त्रालयको ३० माघको मन्त्रीस्तरीय निर्णय भएको पत्रमा उल्लेख गरिएको छ । मन्त्रालयले खर्चमा मितव्ययिता अपनाउन र खर्च हुन नसक्ने रकम अनिवार्य रूपमा समर्पण गर्न निर्देशन दिएको हो ।