काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको वायु आज नेपालकै प्रदूषित सहर बनेको छ । बिहान साढे ६ बजेको समयसम्म धनगढीको वायु प्रदूषण १८५ एक्यूआई मापन गरिएको छ ।
पछिल्लो २४ घन्टामा पनि धनगढी नै प्रदूषित थियो । नेपालको वायु गुणस्तर मापन गर्दै आएको वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर निगरानीका अनुसार पछिल्लो २४ घन्टामा धनगढीको वायु प्रदूषण १८२ मापन गरिएको थियो ।
वातावरण विभागका अनुसार ०–५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । ५१–१०० मध्यम, १०१–१५० हुँदा अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।
मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।