काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आज म्यान्मारको सामना गर्दै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
हालसम्म नेपाल र म्यानमार दुबै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेकोले यस खेल फाइनलअघिको वार्म–अप सरह हुनेछ ।
म्यानमारले लेबनानलाई ३-१ तथा कीर्गिस्तानलाई ५-० गोलअन्तरले हराएको थियो भने नेपालले लेबनान र कीर्गिस्तान दुबैलाई समान १-० गोलअन्तरले हराएको थियो ।
नेपाल र म्यानमारबिच हालसम्म ३ खेल भएको छ जसमा एक बराबरी खेल्दा दुई खेलमा नेपाल पराजित भएको थियो । म्यानमारले ७ गोल गर्दा नेपालले जम्मा २ गोल मात्र गरेको छ । सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३-० ले पराजित भएको थियो भने फाइनलमा ३-१ ले पराजित भएको थियो । त्यसअघि सन् २०१८ मा भएको ओलम्पिक एएफसी क्वालिफाइङ राउण्ड वानमा नेपालले म्यानमारसँग १-१ को बराबरी खेलेको थियो । प्रतियोगिताको फाइनल खेल बुधबार नेपाल र म्यान्मारबीच नै हुने तालिका रहेको छ ।
आजै दिउँसो २ बजे हुने खेलमा लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोलीका लागि सान्त्वना जितको पनि अवसर हुनेछ ।