नेपाल वायुसेवाका तीन वटा जहाज एकसाथ ग्राउन्डेड

विविध समाचार

काठमाडौं । यात्रु आवागमनको चाप बढेर महँगो दरमा हवाई टिकट बिक्री भइरहेका बेला नेपाल वायुसेवा निगमका दुई न्यरोबडी र एउटा वाइडबडीसहित तीनवटा जहाज एकैसाथ ‘ग्राउन्डेड’ भएका छन् ।

राम्रो कमाई हुने सिजनमा जहाज नहुँदा तीन दिनयताका आधा दर्जन गन्तव्यमा उड्नुपर्ने उडान धमाधम रद्द हुँदा कम्तीमा २ हजार यात्रु अलपत्र परेको निगमको मार्केटिङ विभागका अधिकारीहरुले जनाएका छन् ।

निगमसँग १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न १ सय ५७ सिट क्षमताका दुइटा एयरबसका ए३२० न्यरोबडी र २ सय ७४ सिट भएका दुइटा एयरबसका ए३३० वाइडबडी विमान गरी चारवटा जेट छन् । तर एक सातायता निगमका तीनवटा विमान पटकपटक बिग्रिए । चीनमा सीचेक सकिएको सगरमाथा न्यरोबडी भुक्तानीमा समस्या सृजना हुँदा एक सातादेखि उतै थन्किएको छ ।

‘तीन दिन यताका मुम्बई, बैंलुरु, क्वालालम्पुर, दोहा, दमामका उडान अन्तिम सयममा जहाज बिग्रिएकाले, नभएकाले रद्द हुँदा टिकट खरिद गरेका २ हजार हाराहारी यात्रु अलपत्र छन्, उनीहरुलाई कतै होटलमा, कतै अर्को जहाजबाट पठाउने प्रयास भइरहेको छ’, निगमका एक उपनिर्देशकले भन्नुभयो,‘यतिबेला हामी यात्रु तथा ट्राभल एजेन्सीका फोन उठाउन सक्ने अवस्थामा छैनौं । हामीले जवाफ दिने ठाउँ नै भएन । हाम्रै कार्यकारी अध्यक्ष फोन अफ गरेर बस्नु भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *