काठमाडौं । कुनै समय अर्थ मन्त्रालयमा बसेर रजगज गरेका कर्मचारीहरु आज समयक्रम सँगै भित्तामा पुग्दैछन् । अर्थ मन्त्रालयमा रजगज गरेका र वैदेशिक अध्ययन तथा तालिमको नाममा राज्यबाट सबैभन्दा धेरै लाभ लिएका सचिव हुन् मधु मरासिनी अर्थबाट बाहिरिएर उपराष्ट्रपति कार्यालय हुँदै योजना आयोगमा पुगे । तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालको छत्रछायाँ रहुन्जेल मधु सदैभरि शक्तिशाली निकायमा कार्यरत रहे । निजामतीभित्र अवसरमाथि अवसरको खात पाउने प्रशासकमा गनिन्छन्,मधु ।
जसले १३ बर्ष समय वैदेशिक अध्ययन तथा विदेशमै बिताएका कर्मचारी हुन् । उनी १६ फागुनमा अनिवार्य अवकाशमा जाँदैछन् । उनी किनारामा परेसँगै उनको भाइ शम्भु पनि अर्थबाट साइड लागे । मधु हुलाकमा हुँदै विदेश पढ्न गए, एडिवीको जागिर खान भ्याए । अर्थकै वैदेशिक महाशाखामा बसेर काम गरे । न्यूयोर्कस्थित महा वाणिज्य दूतावासमा महा वाणिज्यदूतका रुपमा काम गरे ।
महालेखा नियन्त्रक चलाए । उनी अर्थ सचिवको कुर्सीमा पुग्दा भाई शम्भुलाई अर्थमा भित्र्याएका हुन । शम्भुले त्रिभुवन भन्सार कार्यालय, मझौला करदाता कार्यालय, महालेखा नियन्त्रक हुँदै भन्सार जाँचपास कार्यालयमा थिए । शम्भु अर्थ मन्त्रालय भन्सार जाँचपास परिक्षण कार्यालयका प्रमुखको जिम्मेवारीमा थिए । शम्भु अर्थ मन्त्रालय मातहतका मध्यमस्तरीय करदाता सेवा कार्यालय,भन्सार विभाग,महालेखा नियन्त्रकको कार्यालय लगायतको शक्तिशाली निकायमा बसेर काम गरिसकेका कर्मचारी हुन् । जसरी मधु अर्थबाट आउट भए उसैगरी अहिले शम्भु पनि अर्थबाट बाहिरिएका छन् ।
यस्तै घटनाक्रम देखिएको छ,रामशरण पुडासैनीको दाजुभाईको हकमा पनि । हालैमात्र भन्सार विभागबाट हटाइएका हरिशरण पुडासैनी रामशरणका आफ्नै भाइ हुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बागमती प्रदेशबाट अर्थ मन्त्रालय भित्र्याएर भन्सार विभागको महानिर्देशक बनाइएका हरिशरण पुडासैनी ६ महिना नबित्दै भन्सार विभागबाट फालिएका छन्। काठमाडौंका पुडासैनी दाजुभाई पालैपालो अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख समेत चलाए । रामशरण अहिलेका मुख्यसचिव एकनारायण अर्यालका व्याजी हुन,सहसचिव हुँदाताकाको ।
हालैमात्र भन्सार विभागको महानिर्देशकबाट भाइ हरिशरण पुडासैनीलाई फालेर महेश भट्टराईलाई पठाइनु र पूर्व सचिव रामशरण पुडासैनी वीमा प्राधिकरणको अध्यक्षको प्रवल दावेदार हुँदा हुँदै एक जना पत्रकारले त्यहाँ नियुक्ति पाउनुको बीचको कनेक्सन के होला ? वीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जना प्रतिष्पर्धामा रहेका थिए । त्यसमध्ये सर्ट लिष्टमा पूर्व सचिव रामशरण पुडासैनी, प्राधिकरणका कार्यकारी निर्देशक कमल रेग्मी, पूर्व अध्यक्ष चिरन्जिवी चापागाई, स्वास्थ्य वीमा वोर्डका कार्यकारी निर्देशक दामोदर बसौला र शरद ओझा छानिएका थिए । यीमध्येबाट पुडासैनी,बसौला र ओझाको नाम सिफारिस भएको थियो ।
यो सिफारिस देख्दा धेरैले लख काटेका थिए,पूर्व सचिव पुडासैनीले त्यहाँ नियुक्ति खानेछन्,तर उनी पनि पूर्व अर्थ सचिव शिशिर ढुङ्गनाझैं अन्त्यमा पछारिए । जागिरे जीवनमा एमाले शक्ति र सत्तामा हुँदा धेरै लाभ उठाउने मध्येका एक कर्मचारी हुन पुडासैनी । ओली सरकारको निगाह हुँदा एशियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशकमा पूर्वमुख्यसचिव सोमलाल सुवेदीलाई हटाएर बाँकी ८ महिनाको लागि पुडासैनीलाई पठाइएको थियो । २०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरेका उनले जागिरे जीवनमा कहिल्यै नराम्रो कार्यालयमा बस्नु परेन । २५ वर्ष बढी अर्थमन्त्रालयमा काम गरेका कर्मचारी हुन उनी ।
यी दाजुभाई नै मधु र शम्भुले जसरी अर्थमा रजगज गरेका थिए उसै गरी एमाले सत्तामा हुँदा प्रचुर लाभ लिएका कर्मचारी हुन् । रामशरण एसियाली विकास बैंकको वैंकल्पिक कार्यकारी निर्देशकमा जागिर खान फिलिपिन्सको मनिला गएपछि भाई हरिशरण अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुँदै ग्वान्जाओको महावाणिज्यदूत समेत चलाएका थिए ।
रामशरण अर्थ मन्त्रालयका (राजस्व) सचिव हुँदा अर्का भाई सुरेश पुडासैनी परराष्ट्र मन्त्रालयमा लेखापालको रुपमा कार्यरत थिए । त्यहीँबेला बेईजिङस्थित नेपाली राजदूतावासमा रहेको लेखापालको दरबन्दी क्यानबेरा स्थानान्तरण गरेर उनलाई पठाइएको थियो । जसरी मधु र शम्भुहरुलाई समयले किनारामा पारिरहेको छ,उस्तै हालत छ अहिले रामशरण र हरिशरणहरुको कथा ।