महासचिव आरसीको हर्कतले कर्मचारीहरु आजित

राजनीति समाचार

काठमाडौं । कर्मचारी संगठनको १२ औं महाधिवेशन फागुन ३ गते सम्पन्न भएको छ । सो महाधिवशेनले देशभरबाट १७१ जनाको कार्यसमिति चयन गरेको थियो महाधिवेशनले १७१ जनाको कार्यसमितिसँगै विभिन्न चारवटा आयोग पनि गठन गरेको छ । त्यसमा लेखापरीक्षण आयोग, अनुसासन आयोग, नीति अनुसन्धान आयोग र विज्ञान तथा प्राविधिक गठन गरेको छ ।

तीनवटा आयोगमा १-१ जना संयोजक र सचिव एवं ३-३ जना सदस्य रहेका छन् । उता विज्ञान तथा प्राविधिक आयोगमा भने १ संयोजक, एक सचिव र ९ सदस्य रहेका छन् । कर्मचारी संगठनमा बहुसंख्यक प्रतिनिधिहरु चुनावको पक्षमा उभिए तापनि अध्यक्षमा भवानी न्यौपाने दाहाललाई ल्याउनुपर्ने एमाले अध्यक्ष ओलीको अडानपछि जबर्जस्ती सर्वसम्मतिमा कार्यसमिति चयन गरिएको थियो । सर्वसम्मतिको नाममा भवानी दाहाललाई अध्यक्ष चयन गरेपछि कर्मचारी संगठनमा अध्यक्ष भवानी कि पुण्य ढकाल भन्ने कर्मचारीवृत्तमा चर्चा हुन थालेको छ ।

नेपाल निजामति कर्मचारी संगठनमा सर्वसम्मतको नाममा जम्बो कार्यसमिति चयन गरिएको छ । पदाधिकारी, सदस्य र विभिन्न आयोगमा गरी १९७ जनाको सिंगो कार्यसमिति चयन हुँदा पनि दलित, मधेसी, महिला र जनजातिको न्यून सहभागिता रहेको पाइन्छ । तर, पिछडिएको क्षेत्र, अल्पसंख्यक, थारु, मुस्लिम जस्ता समुदायलाई भने कार्यसमितिमा समेटेको पाइँदैन । माओवादी केन्द्र निकट कर्मचारी संगठनबाट आएका केही व्यक्तिहरुलाई कार्यसमितिमा समेटिएको छ भने एमाले निकट कर्मचारीहरु जो संगठनमा मरिमेटेर लागिपरेका व्यक्तिहरुलाई पाखा लगाइएको आरोप पनि त्यत्तिकै छ । उता, सर्वसम्मतिको नाममा बार्गेनिङ गरेर महासचिवमा चयन भएका रामचन्द्र अधिकारी (आरसी)ले पद सम्हालेको हप्ता दिन नपुग्दै उठ्तीपुठ्ती धन्दा सुरु गर्न थालेका छन् ।

आरसी नासु पदमा कार्यरत छन् । तर, कर्मचारी संगठनको महासचिवको हैसियतले सरकारी गाडी दुरुपयोग गरिरहेका छन् । अधिकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नासु भएर बसेको १० वर्ष नाघिसकेको छ । अहिले कर्मचारी संगठनको महासचिव चयन भएपछि मन्त्रालयभित्रै छुट्टै कोठा लिएर कर्मचारी सरुवा, बढुवाको सेटिङ मिलाएर कमाउधन्दा सुरु गरेका छन् । एमाले निकट कर्मचारीहरुलाई एयरपोर्ट अध्यागमन कार्यालय, नापी, मालपोत, भन्सार, राजश्व र यातायात कार्यालयमा मोटो रकम लिई सरुवा धन्दा चलाएको स्रोतको भनाइ छ ।

यस विषयमा जानकारी लिनको लागि तामाकोशी सन्देश प्रतिनिधिले ९८५१००१३७२ मा पटक–पटक सम्पर्क गर्न खोज्दा फोन उठाएनन् । उता, कांग्रेस र माओवादी निकट कर्मचारीहरुलाई पनि मालदार ठाउँमा सरुवा गराउन मन्त्री र सचिवसँग सेटिङ मिलाइदिन्छु भनेर फकाउन थालेका छन् । संघीयमन्त्री रामकुमार गुप्ता र तत्कालीन सचिव भरतमणि सुवेदीबीच टसल गराउने काम पनि यिनै आरसी अधिकारीले गरेको आरोप मन्त्रालयभित्र छ । आरसीले एमाले नेता ईश्वर पोखरेल र योगेश भट्टराईलाई प्रयोग गरेर कर्मचारीतन्त्रभित्र सेटिङको खेलोफड्को गर्ने काम गर्दै आएका छन् ।

कर्मचारी संगठनको महासचिव निर्वाचित भएको हप्तादिन नबित्दै आरसीको हर्कतले कर्मचारीहरु त्राहिमान हुन पुगेका छन् । अधिकारी महासचिवमा निर्वाचित भएपछि देश भ्रमणमा निस्किएका छन् । आरसी निवर्तमान कार्यसमितिमा उप–महासचिव थिए । उप–महासचिव हुँदा पनि अधिकारीले तलदेखि माथिसम्मको सेटिङ मिलाएर असुली धन्दा चलाइरहेका थिए । अधिकारीको सम्पत्ति छानविन गर्ने हो भने कहाली लाग्दो अवस्था भएको कर्मचारीहरुको भनाइ छ । अवैध रुपमा अकुत सम्पत्ति आर्जन गरेकै कारण अधिकारी सधैं संघीय मन्त्रालयमा बसेर कर्मचारी संगठनको राजनीति गर्दै आएका छन् । उनले कर्मचारी संगठनको राजनीतिसँगै घर–जग्गा खरिदविक्री गर्दै आएका छन् । एउटा नासु स्तरको कर्मचारीले सचिवकोभन्दा ठूलो हैसियत देखाउन पछि पर्दैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *