काठमाडौं । पछिल्लो समय अनुसन्धान गर्ने निकायमा बस्ने र त्यहाँबाट गृह तथा अर्थतिर हामफाल्ने कर्मचारीको संख्या बढ्न थालेको छ ।
हालैमात्र ७८ जना सहसचिवको सरुवा गरिँदा ईश्वरी प्रसाद अर्याल,नरहरि घिमिरे,माधव प्रसाद पोखरेल अख्तियारबाट गृह मन्त्रालयमा भित्रिएका छन् । वेद भण्डारी र खगेन्द्र रिजाल अख्तियार पुगेका छन् । यस अघि अख्तियारमा बसेका श्यामप्रसाद भण्डारी अहिले अर्थतिर आइपुगेका छन् । भोला दाहाल अख्तियारमा लामो समय बसेर गृहमा इन्ट्री भएका छन् ।
अख्तियारमा बस्दा काविल ठहरिएका डा भीष्मकुमार भुषाललाई गृहमा पेण्डुलम बनाएर राखिएको धेरै समय भइसकेको छ । कुनै समय अख्तियारले बुटवलको हाकिम हुँदा राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुखलगायत तीन जना उपसचिवस्तरका कार्यालय प्रमुखलाई पक्राउ गरेर देशैभरका अख्तियारका कार्यालयमध्ये स्टिङ अपरेसनमा कीर्तिमानी कायम गर्नै भुषाललाई विपद् प्राधिकरणमा थन्काइएको छ । यसरी अख्तियारलाई भ¥याङ्ग बनाएर अर्थ र गृह फड्को मार्ने सहसचिवमात्र होइन । सचिवहरु समेत छन्,जस्तो हालैमात्र अख्तियारबाटै घनश्याम उपाध्याय अर्थ मन्त्रालयमा भित्रिएका छन् ।
पछिल्लो एक दशकको अवधिमा अर्थ र राजश्व सचिव बनेकामध्ये अधिकांश अख्तियारलाई हत्यार बनाएका छन् । ०६९ सालमा तत्कालीन सचिव शान्तराज सुवेदी हुन वा ०७२ साउनमा अर्थ सचिव बनेका राजन खनाल, ०७९ साउनमा कृष्णहरि पुस्कर, ०७९ साउनमै राजस्व सचिव बनेका रामेश्वर दंगाल र राजस्व सचिवबाट ०८१ साउनमा अर्थ सचिव बनेका डा. रामप्रसाद घिमिरे हुन वा अख्तियारबाटै फड्के मारेर गृह सचिव बनेका महेश्वर न्यौपाने हुन् । संयोग चाहिँ यी बाहेक दुई शिशिर ढुंगना र मधुकुमार मरासिनीमात्र अख्तियारभन्दा बाहिरबाट अर्थ सचिव बने । र,अख्तियार पनि यी दुबैलाई मात्र लागेको देखिन्छ । मधु मरासिनीलाई अख्तियार लागेर सात महिना निलम्बनमा परेका कर्मचारी हुन् । नेशनल पेमेन्ट गेटवे प्रकरणमा डामिएका सचिव हुन् मधु मरासिनी ।
अख्तियारले मधुसहित ९ जनालाई अख्तियारले २३ करोडको भ्रष्टाचार मुद्दा चलाएको थियो । जनार्दन शर्मा अर्थमन्त्री हुँदा राजश्व दरमा भएको हेरफेरमा ‘मुसा छिर्दा’ मरासिनी अर्थसचिव थिए । व्यापक आलोचना भएपछि उद्योगमा पुगे । त्यही रहँदा अख्तियारले मुद्दा हाल्यो असोज १५ गते । नेशनल पेमेन्ट गेटवे प्रकरणमा भएको २३ करोड भ्रष्टाचार मुद्धामा अख्तियारले उद्योगका तत्कालीन सचिव मरासिनीसहित ९ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको थियो तर विशेषले यो प्रकरणमा सुनिल पौडेललाई मात्र भ्रष्टाचारी ठहर गर्दै बाँकीलाई क्लिन चिट दिएपछि उनी अर्थ,उपराष्ट्रपति कार्यालय हुँदै राष्ट्रिय योजना आयोगबाट अवकाशमा गइसकेका छन् ।
यस्तै पूर्व अर्थ सचिव शिशिर कुमार ढुङ्गना समेत यस्तै नियति भोग्ने सचिव हुन । जागिरे जीवनमा अख्तियारमा नबसेका पूर्व अर्थसचिव शिशिर कुमार ढुंगाना वाइडबडी विमान खरिदमा भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले ढुंगानालाई १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ ९० पैसा बिगो र त्यति नै जरिवाना अशुल गर्ने फैसला सुनाएको छ,केही महिना अगाडिमात्र । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले वाइडबढी खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले दायर गरेको आरोप पत्रमा यस्तो फैसला गरेको थियो ।