स्वास्थ्य बीमा बोर्डको कार्यकारी प्रमुखमा काफ्ले नियुक्त

विविध समाचार

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी प्रमुखमा रघुराज काफ्लेलाई नियुक्त गरेको छ ।

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले तनहुँका काफ्लेलाई बीमा बोर्डको कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । उनी गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा उनी उपाध्यक्ष थिए । नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन स्वीकृत भएका १० जना उम्मेदवारहरूमध्ये फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिई तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । सिफारिस गरिएका नामहरूमा कमल पन्थी, डा.कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्ले परेका थिए ।

डा. काफ्लेसँग करिब १२ वर्ष संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहभागितात्मक जिल्ला विकास कार्यक्रम तथा संयुक्त राष्ट्रसङ्घीय बालकोषको महिला तथा बालबालिकासम्बन्धी विकेन्द्रित कार्यक्रमलगायतका विकास साझेदारका परियोजनाहरूमा जिल्ला टोली नेताको रूपमा कार्य गरेको अनुभव छ । उनले समुदाय, स्थानीय तह, र जिल्ला तहको वास्तविक विकासमा विशेष योगदान दिएका छन् । गरिबी निवारण, उद्यम तथा रोजगारी प्रवर्द्धन, सामाजिक सशक्तीकरण, बाल विकास तथा महिला सहभागिता वृद्धिमा उनले विशेष दखल राख्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *