पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ भौतिक प्रगति ४३ प्रतिशत मात्रै

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको छ ।

कूल ३८ दशमलव ८८ किमी दूरीको खण्डमा हालसम्म २९ दशमलव ४७ किमी सडक कालोपत्र भएको हो । चार लेनको सडकमा १५ दशमलव ३२ किमीमा दुईतर्फी र १४ दशमलव १५ किमीमा एकतर्फी कालोपत्र गरिएको छ । सडक निर्माणको म्याद २०८२ साल पुससम्म रहेको छ । यसअघि दुईपटकसम्म म्याद थप भएको थियो ।

कूल ४१ दशमलव ४५ किमीको पूर्वी खण्डमा पनि २०७८ साल वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा सडक स्तरोन्नति र कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । सरकारको प्राथमिकता प्राप्त यस सडक आयोजना निर्माणका क्रममा रहेकाले पोखराको यातायात सेवा केही असहज भने बनेको छ । सडक स्तरोन्नति लक्ष्यभन्दा केही ढिलो भइरहेकामा स्थानीयवासीको गुनासो छ ।

गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिपछि पोखरादेखि देशका विभिन्न ठाउँको यातायात सेवा सहज र छरितो हुनेछ । चार लेनको उक्त सडकले सिङ्गो गण्डकी प्रदेशको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । पोखरा आतजावत गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता छिट्टै अन्त्य हुने कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *