राष्ट्रपति चुरे संरक्षण स्थापना भएको १० वर्षको अवधिमा १५ अर्ब खर्च

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा उपलब्धीबारे समीक्षा हुन थालेको छ ।

समिति स्थापना भएको झण्डै १० वर्षको अवधिमा १५ अर्ब रुपैयाँ खर्च गरेको उद्देश्य अनुसारको उपलब्धीबारे समीक्षा हुन थालेको हो । समितिले हालसम्म एक हजार चार सय ५९ स्थानमान गल्छी, पहिरो, खहरे नियन्त्रण, एक सय ६६ हेक्टर भिरालो कृषि भूमिमा बहुवर्षीय बाली विस्तार गरेको गरेको छ । त्यस्तै पाँच हजार दुई सय ३० हेक्टरमा हरियाली प्रवर्द्धन कार्यक्रम गरेको र दुई करोड ९३ लाख ४९ हजार बिरुवा उत्पादन र वितरणलाई समितिले उपलब्धि मानेको छ ।

२०७१ साल असार २ गते स्थापना भएको समितिले आर्थिक वर्ष २०८०/८१ सम्म १४ अर्ब ९६ करोड खर्च गरेको छ ।समितिका अनुसार यस अवधिमा वित्तीय प्रगति ८८ दशमलव ९३ र भौतिक प्रगति ९१ दशमलव ८४ प्रतिशत भएको छ । समितिमा मासिक तलब सुविधा लिने ६ पदाधिकारीसहित एक सय २४ जना कर्मचारीको दरबन्दी रहेकामा हाल ८६ जनाको पदपूर्ति रहेको छ ।

ललितपुरमा केन्द्रीय कार्यालय रहेको समितिले मुलुकभर सलकपुर, जनकपुर, चितवन, बुटवल र लम्कीमा कार्यक्रम कार्यान्वयन इकाई स्थापना गरी काम गर्दै आएको जनाएको छ । चुरे क्षेत्र सात प्रदेशका ३७ जिल्ला र तीन सय २५ स्थानीय तहमा फैलिएको छ । कमलो भूबनोट, जनसङ्ख्या बसाइँसराई, जलवायुजन्य जोखिम, आगलागीलगायतका कारणले चुरे विनाश हुँदै गएको छ ।

चुरेको प्राकृतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको संवर्द्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने लक्ष्यका साथ समितिको स्थापना भएको हो । समितिले स्थापनाकालदेखि नै विभिन्न विवाद र चुनौतीको सामना गर्नुपरेको थियो । राजनीतिक हस्तक्षेपको सामना गर्नुपरेको गुनासो गर्दै आएको समितिले आफैँ बेला बेला भ्रष्टाचार र अनियमितताको आरोप पनि खेप्दै आएको छ ।

हाल समितिका दुई पदाधिकारीको नियुक्तिमा अयोग्यता पुष्टि भएपछि अदालतको आदेशानुसार पदमुक्त भएका छन् । पछिल्लो समय समितिलाई प्रभावकारी र चुस्त बनाउन सरकारले यसको पुनःसंरचनाका लागि कार्यदल गठन गरी सुझाव सङ्कलन गर्न लागेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *