भौतिक रुपमा तिन देश जोड्ने छोटो बाटो

राजनीति लेख

विशाल २ देशको बिचमा नेपाल रहेको छ । यी दुई देश विचको सहकार्यमा नेपालको भूमिका गहन् हुने देखिन्छ । त्रिदेशीय राजमार्गको चर्चा गर्ने गरिन्छ । यस क्रममा महोत्तरी जिल्लाको भिट्टामोड देखि दोलखाको उत्तरी सिमाना फलाकसम्म सडक निर्माण गर्ने प्रयास भैरहेको छ । यो सडक निर्माण भएका खण्डमा भारत र चिन जोड्ने सवै भन्दा छोटो हुने भनिएको छ । यो सडकको ट्रयाक खोल्ने काम सकिनैं लाग्यो । तर उत्तर तर्फको नाका खोलिन्छ कि खोलिन्न प्रश्न चिन्हनैं छ । चिनले नाका खोल्ला नखोल्ला तर पनि नेपालको सिमासम्म सडक पुग्नु दोलखाली वा त्यहाँका बासिन्दाकोलागि सुखद अवस्था पक्कै हो ।

सडक निर्माणको प्रगती

दोलखामा उत्तर दक्षिण राजमार्ग वा त्रिदेशीय सवै भन्दा छोटो राजमार्गको हल्ला चल्न थालेको धेरै भयो । महोत्तरीको जलेश्वर नपा वडा नं.६ मा पर्ने भिट्टामोड देखि चिनको याङ्गलुङ्गसम्म सडक यात्रा गर्दा २ सय ४८ किलोमिटर मात्र पार गर्नु पर्ने भनिएको छ । अहिलेसम्मको हिसाबमा ३ देश समेट्ने सवै भन्दा छोटो दुरिको सडक हो । यो सडकको ट्रयाक खोल्न अब ३ किलोमिटर मात्र वाँकी रहेको बताइएको छ ।

गत महिना चरिकोट देखि लामबगर फलाक तर्फको सडक यात्रा गर्ने मौका मिल्यो । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल दोलखा आउनु भएको थियो । उहाँका साथमा सडक विभागको महानिर्देशक रामहरी पोख्रेल हुनुहुन्थ्यो । नेकपा एमालेका पोलिट्व्यरो सदस्य एवं पूर्व मन्त्री पार्वत गुरुङ्ग, प्रदेश सांसद भरत वहादुर केसी लगायत नेकपा एमाले र नेपाली कांगे्रस नेताहरु सहितको टोलीले लामावगर तर्फ उहाँहरु चरिकोट, लामाबगर हुँदै फलाक तर्फको निर्माणाधिन सडक अनुगमनमा जाने निधो भयो । यस टोलीमा बागमती प्रदेश सभाका सांसद भरत वहादुर केसी, नेपाली कांग्रेस, नेकपा एमाले जिल्ला तहका नेताहरु र प्रमुख जिल्ला अधिकारी लगायतको सहभागीता रहेको थियो । नेकपा एमालेको पोलिट्व्युरो सदस्य एवं पूर्व मन्त्री पार्वत गुरुङ्गले यो भ्रमणको समन्वय तथा नेतृत्व गरिरहनु भएको थियो ।

पहिलो सार्वजनिक सुरुङ्ग
चरिकोट देखि कालोपत्रे सडकबाट सिङ्गटी पुगियो । त्यस पछि कच्ची सडक हुँदै लामावगरसम्मको यात्रा रह्यो । यस सडकमा ४ सय मिटर जती लम्वाई भएको सुरुङ्ग पर्दछ । सार्वजनिक यातायातको साधान नैं चल्ने यो सुरुङ्ग नैं नेपालको पहिलो सुरुङ्ग हो । यात्रा अझै अगाडी वढ्यो । माथिल्लो तामाकोशीको जलाशय क्षेत्रबाट झनैं उत्तर लाग्यौं । ४ सय ५६ मेगावाट क्षमता भएको माथिल्लो तामाकोशी आयोजना सञ्चालन भएको छ । दोलखालीकालागि सुनको अण्डा पार्ने भनिएता पनि जलविधुत्को शेयरबाट त त्यती प्रतिफल आउन सकेन । तर दोलखाको उत्तरी क्षेत्रमा आमुल परिवर्तन ल्यायो । तामाकोशी नदी र आसपासमा सडक बने । जलविधुत् आयोजनाको हब नैं वन्यो । तामाकोशी जलविधुत् आयोजना सुरु नभएको भए सायद अहिलेको जस्तो भौतिक पूर्वाधार तयार हुन धेरै वर्ष पर्खनु पर्दथ्यो । यात्रा गर्दा लाग्दछ, यहाँका हरेक डाँडामा जलविधुत्कालागि पानी वग्ने सुरुङ्गै सुरुङ होला ।

अधिकांश सुरुङ्गहरु आमनागरिकको प्रयोगमा आउने होइनन् । तथापी सिंगटी देखि लामाबगर खण्डमा करिव ४ सय मिटर जतीको सुरुङ्ग मार्ग पर्दछ । लामावगर देखि फलाक तिर जाने सडक तर्फको खण्डमा १ किलोमिटर भन्दा केही वढि लम्बाईको सुरुङ्ग रहेछ । यो सुरुङ्ग चाँही जलविधुत् आयोजना निर्माता अर्थात निजि क्षेत्रबाट तयार भएको हो । त्यस भन्दा अगाडीको सडक समेत नीजि क्षेत्रबाट नैं बनाएको रहेछ । कहाली लाग्दो भीरमा सडक वनी रहेको छ । हेर्दा नैं अँत्यास लाग्दछ । काम कसरी हुँदो हो ? लामाबगर तर्फबाट सुरुङ्ग सहित ५ किलोमिटर जतीको सडक वनी सकेकोछ । यो नीजि क्षेत्रबाट बनेको हो । अहिले विगु गाउँपालिका वडा नं. १ को हुरहुरेको भीरमा सडक बनाउने काम भैरहेको छ । अब ५ सय मिटर जती ट्रयाक खोले पछि फलाक तर्फबाट वन्दै गरेको सडकसँग जोडिन्छ । यसको मतलब हेलीकप्टेरबाट डोजर लगि फलाक तर्फबाट लामावगर तिरको सडक निर्माणका काम पनि भैरहेको रहेछ । त्यो जोडिए पछि ३ किलोमिटर जती ट्रयाक खोलियो भने चिनको सिमानासम्म पुग्न सकिन्छ ।

फलाक तर्फको वाँकी ट्रयाक खोल्नकोलागि नेपाल सरकारले २० करोड रकम भरखरै विनियोजन गरेको छ । त्यसै गरी सडक विभागका महानिर्देशक रामहरी पोख्रेलका अनुसार मुडे देखि चरिकोटसम्मको सडककालागि थप १० करोडको टेण्डर आव्हान भैसकेको छ । अबको हाम्रो यात्रा सहज हुने संभावना वढ्यो । यो यात्राको क्रममा अति विकट स्थानमा पनि सडक वनीरहेको, बाँकी ट्रयाक खोल्नकोलागि स्रोत सुनिश्चिीत भएको अनी धेरै बर्ष देखि अलपत्र परेको मुडे चरिकोटको सडकलाई अन्तिम रुप दिन टेण्डर पनि आव्हान भैसकेकोले बन्दैछ दोलखा भन्ने लाग्दछ ।

भारत, नेपाल र चिन समेट्ने सडक मार्ग पक्कै बन्ने छ । कुनै दिन सडक कालोपत्रे पनि होला । तर भारत र चिनको सम्वन्ध पनि सुमधुर भैदिए नेपाललाई पनि फाइदा पुग्ने थियो । मानिलिऔं, ति ठुला देशको विचमा सम्वन्ध सुमधुर हुन सकेन वा अहिलेको जस्तै भए पनि चिन तर्फको नाका मात्रै खोलिए पनि सजिलो हुने नैं थियो ।

त्रिदेशीय यो सडक पनि बन्ने नैं छ । सडक वन्नु, गाडी दौडनु, विजुली उत्पादन हुनु मात्रैले दोलखाको समृद्धि हुँदैन । वाहिरबाट सामान ल्याउने मात्रै होइन यहाँबाट पठाउने पनि हुनु पर्दछ । दोलखालीको खोजीमा पैसा पर्ने गरि उद्यम र रोजगारी सिर्जना गर्न सक्नु पर्दछ । त्यसैले त्रिदेशिय सवारी साधान पनि दौडिए हुन्थ्यो । नेपाली उत्पादन निकाशी भैदिए हुन्थ्यो । फलाक नाका सञ्चालनमा चिन सरकारको पनि चाहाना भैदिए हुन्थ्यो । यसकालागि कुटनितिक पहल भएकै होला । आशा गरौं, यहि राजमार्गको कारण दुइतिरका विशाल देशहरु विचमा सहअस्तित्वको सहकार्य हुने छ । यसमा नेपालले आफ्नो पहिचान सहितको भूमिका खेल्न सकोस् शुभकामना ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *