काठमाडौं । उखान छ, नौली बुहारीको नौ तुना, सोझी बुहारीको जगल्टाको नाश । पुरुषवादी समाजले नारी चेतनामाथि थोपरेको यो गाउँले उखान र गणतन्त्र हामीले ल्याएको हो, कुनै माइकालालले होइन भन्न सक्छ भन्दै चर्किने प्रधानमन्त्रीमा फरक देखिएनन् । सत्तामा जाँदा परिवारवाद र अवसरवादमा रमाउने माओवादी अध्यक्ष प्रचण्डको जनतासँग माओवादी कार्यक्रम स्थगित गरी पुन सुरु गरेको घटना एउटै किसिमको हो । सरकारको प्रमुख नै गणतन्त्रको रक्षक नभएकोले माओवादीले आन्दोलन रोकेर भ्रष्टाचारमा रमाइरहेको कांग्रेस–एमाले सरकारको रक्षा गर्न आउनु थिएन ।
प्रधानमन्त्री तर्सेर पूर्वराजा ज्ञानेन्द्रलाई थुन्छु भनेको तथ्य बाहिर आयो, यो ठिक होइन । मुलुक र जनताप्रति माओवादी बफादार थियो भने आफु पटक पटक मयुरले प्वाक फेरेझैँ कहिले कांग्रेस, कहिले एमालेको वैशाखी टेकेर सत्तामा रमाउन प्रचण्डलाई लाज लाग्थ्यो । तर उनी पद र कुर्सीको भोक जागेकै कारण हुलाकी राजमार्गको पैदल यात्रा स्थगित गरेर राजधानी आएर फर्केका हुन् । सत्तामा हुँदा नचिन्ने, सत्ताबाट हटेपछि जनता खोज्ने अवसरवादलाई माओवादीका भ्रष्टहरूले नियालेका छन् । १०÷१५ हजार राजावादीको अराजक भिडले हल्लिने गणतन्त्र कस्तो हो ? जुन गणतन्त्रका रक्षकहरू सबैजसो राज्य लुटको मोर्चामा छन् । शेरबहादुरको नाममा डा.आरजुले जसरी देश लुटेकी छन्, एमालेको नाममा अध्यक्ष नै सरिक छन् ।
माओवादीलाई जनताले फरक रुपमा लिएको छैन । डा.बाबुरामको हालत अहिले खस्कियो, जब उनी पार्टीबाट अलग भए । त्यसपछिका दिनमा डा.बाबुरामको पछि लाग्ने मान्छे हराए । विचारले मात्र खान दिन्थ्यो भने मोहन वैद्यसँग गएका नेत्रविक्रमले अधुरो क्रान्ति सफल बनाउँछु भन्दै उद्योगीहरुसँग चन्दा असुल्ने धन्दा चलाउनुपर्ने थिएन । मोहन वैद्य र मोहन विक्रमको धरातल भनेको अब पार्टीको लेटर प्याडमा मात्र हो ।
चन्द पनि हुने हार दैव नटार भएर फर्केका हुन् । कम्बल ओडेर घिउ खाने नारायणकाजीका निकटहरू कुरा आदर्शका गर्छन् । तर सरकारमा जाँदा टिमको लागि पैसा उठाउने काममा प्रशंसा पाउने ल्याकत राख्छन् । काजी आफै पनि राम्रो काम गर्ने नेतृत्वको स्पिरिटमा चल्नुपर्छ भन्ने नेता हुन् । उनको पछि लाग्नेले पत्रकारिताको कथा बजाएर, विज्ञापन एजेन्सी चलाएर प्रेस सेन्टरको अध्यक्ष ताकेका छन् । अहिले प्रचण्डलाई केपी ओलीले स्वर्ग नर्क जहाँ भएपनि सँगै भनेकै भोलिपल्ट कांग्रेस कि डा. आरजुसँग दोस्ती गाँस्दै गिरीबन्धु र नक्कली भुटानी फाइल दबाउन प्रचण्ड पैदल यात्रा रोकेर काठमाडौं आएका हुन् ।
आफैंले स्थापित गरेको संकट टार्न प्रधानमन्त्रीले कांग्रेसभन्दा माओवादी रोज्नुको कारण ज्ञानेन्द्रको अराजक निहुँ मात्रै होइन, छिमेकी भारत र अमेरिकाले लखेट्न लागेको नक्कली भुटानी शरणार्थी फिर्ता पनि हो । राप्रपाको रणनीति अराजकताको हो भने पूर्व राजाको योजना जनमत बुझ्नु हो । व्यापारिक घरानाका ज्ञानेन्द्रले राजगद्धी खोसेर पनि पाउने बेला यो होइन ।
दलहरूले व्यवस्थाका नाममा लुटतन्त्र चलाएका छन् । प्रधानमन्त्री बदनाम मन्त्रीहरू च्यापेर अरुलाई थर्काउँछन् । त्यो नै उनको गल्ती हो । ओलीको यो कार्यकाल सन्तोषजनक नहुनुकै कारण सिंगो सरकारको ध्येय बिजुलीको बिल नतिर्ने उद्योगी र एनसेलको १९ अर्ब करमा ६ अर्ब मिनाहा गर्नु कालोबजार चम्काउनु हो । ऊर्जामन्त्री दीपक खड्का, उद्योगमन्त्री दामोदर भण्डारी, भूमिसुधार मन्त्रीको लोभी व्यवहार हो । यहाँ कार्यक्षमता कमजोर भएका कृषिमन्त्री रामनाथ पनि छन् । पर्यटन मन्त्री बद्री पाण्डेको कांग्रेसकी सांसद राजेन्द्र बजगाई नै विरोधी छन् ।
उखान छ बर्षात्मा आची पुछेर फालेको काठ चैतमा काम लाग्छ । प्रधानमन्त्रीले हिजो खेदेको माओवादी र च्यापेको राजावादी बीचको अन्तर बल्ल बुझेका छन् । त्यसैकारण उनी आफ्ना गल्ती ढाकछोप गर्न पूर्व राजा ज्ञानेन्द्रलाई थुन्ने धम्की दिँदैछन् ।

