ज्योति गुरुङ र प्रज्ञा न्यौपानेको मिलेमतोमा सात करोड हजम

अर्थ/वाणिज्य प्रमुख समाचार

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङको पूर्वपत्नीका आवरणमा अमेरिकामा सुरक्षित रहेकी रेडकर्नर नोटिस जारी ज्योति गुरुङलाई अमेरिका सेटलमा एउटी महिलाले रहस्यमय ढंगले साथ दिइएको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानमा देखिएकी ती पात्रबारे नेपाल र अमेरिकामा खास चासो नभएपनि प्रहरीको अनुसन्धानमा भने ती पात्रको गजबले आगमन र ज्योतिलाई सहयोग गरेको देखिएपछि नेपाल प्रहरी पनि छक्क परेको छ ।

ती पात्र हुन् प्रज्ञा न्यौपाने, जो मोरङकी हुन् र अमेरिकामा रहेका एनआरएनए अभियन्ता रविसिंह बस्न्यातका पत्नी हुन् । उनीहरुले अमेरिकामा सुखमदुखम गरेर राम्रो हैसियत बनाएका छन् । नेपाल छँदा सामान्य चिनजान भएका ज्योति र प्रज्ञाको सम्बन्ध ललितपुरको कुम्भेश्वरस्थित मितेरी सहकारी संस्थाको १३ करोड रुपैयाँ ठगीपछि अमेरिका फरार भएपछि भने अरु सुमधुर भएको र अमेरिकामा प्रज्ञाले नै व्यवस्थापन गरेको देखिएको छ । यति मात्र होइन, नेपालबाट हङकङ हुँदै अमेरिका पुगेकी ज्योतिलाई अमेरिकामा आफूसँग राख्ने, क्यासिनो, आफ्नै पतिको रेष्टुरेन्टमा काम लगाउनेदेखि अहिले ज्योतिलाई काम पनि प्रज्ञाले नै खोजिएदिएको प्रहरी अनुसन्धानमा देखिएको छ । अमेरिका पुगेर यति रेष्टुरेन्टमा काम गरेकी ज्योतिले पनि क्यासिनोमा काम गर्दा नेपालमा उनी मोस्टवान्टेड भएर अनेक समाचार आएको र उनले ठगेको सहकारीका सदस्यका नाता पर्नेहरु पनि त्यही क्यासिनोमा रहेपछि उनी निकालिँदा अर्को काम पनि प्रज्ञा न्यौपानेले नै खोजिदिएको पाइएको छ ।

कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङको अमेरिका बसाइ शानदार चलिरहेको र यो शानदार बसाइको व्यवस्थापनमा उनै प्रज्ञा न्यौपानेको भरपुर साथ रहेको र अहिले पनि ज्योतिबारे अनेक समाचार आएपछि अमेरिकामा पनि नेपाली समुदायबाट पनि टाढा रहेकी ज्योति र प्रज्ञाको भने बरोबर सम्पर्क रहेको पाइएको छ । सूचना अनुसार, ज्योति अमेरिकाको स्यान्टारोजामा डिलक्स अपार्टमेन्टमा बस्छिन् भने ५५ लाख रुपैयाँ बराबरको एसयुभी सवारी साधनमा सफारी गर्छिन् । नजिकैको महंगो स्कुलमा छोरी अधिश्री पढ्छिन् । बढीमा मासिक ३ हजार डलर कमाइ हुने ज्योतिको अमेरिकाको महंगो लाइफस्टाइल देखेर अमेरिकामा वर्षाैँ दुःख गरेका नेपाली पनि जिभ्रो टोक्ने गर्छन् ।

अमेरिकामा ज्योति र प्रज्ञाको जोडी जमेको देखेर नेपाली भन्ने गर्छन्, ‘साथी हुनु त ज्योति र प्रज्ञाजस्तो ।’ जसले नेपालमा मोस्टवान्टेडलाई पनि अमेरिकामा काम दिइरहेकी छिन्, साथ दिइरहेकी छिन्, पार्टीदेखि सपिङ मलमा किनमेलमा समेत सँगै हुन्छन् । हालै ज्योति गुरुङले अमेरिकामा छोराको विवाहको पार्टी दिएकी थिइन् । १० जना बोलाइएको पार्टीमा ७ जना आएका थिए भने त्यहाँ पनि प्रज्ञा न्यौपानेले नै ज्योतिको पार्टी एरेन्जमा मदत गरेकी थिइन् । यसअघि प्रज्ञाको जन्मदिनमा मनाइएको पार्टीमा पनि साथीभाइले दिएको गिफ्ट र अन्य सामान ज्योतिले नै कलेक्सन गरेकी थिइन् । सिआइइबी अनुसन्धानमा ज्योति र प्रज्ञाको कनेक्सन देखिएपछि एउटा मोस्ट वान्टेडलाई के स्वार्थले साथ दिइरहेको हो भन्ने प्रश्न उब्जेको मात्र छैन, ठगीमा साथ दिने मतियारलाई पनि बराबर कानून लगाएर रवि लामिछानेलाई जस्तै कारबाहीको दायरामा किन नल्याउने भनेर रेडकर्नर नोटिससम्म जारी हुनसक्ने देखिएको छ ।

मितेरीको १३ करोड रुपैयाँ हिनामिनामा करिब ७ करोड रुपैयाँ भन्दा बढी रकमको हिसाब किताब हराएपछि धनराज गुरुङ र ज्योति गुरुङको सम्बन्धविच्छेद भएको हो । सम्बन्ध विच्छेदमा छोरी अधिश्री आफैँसँग राख्ने भने पनि ज्योतिले अमेरिका राखेर पढाइरहेकी छिन् । यसका लागि धनराज गुरुङ तीनपटक अमेरिका गएका थिए । उनी पहिलोपटक सिकागो एनआरएनए सम्मेलनमा जाँदा ज्योति गुरुङसँग सम्पर्क भएको थियो । त्यतिखेर स्वकीय प्रेम केसीसँग गएका थिए । अर्कोपटक जाँदा उनले छोरी अधिश्रीलाई अमेरिका लगेका थिए र ज्योतिसँग भेटाएर स्कुल कलेज बुझेर फर्किएका थिए । यसपटक सहयोगी राजु केसीलाई लिएर गएका थिए । उनको जियोल्याण्ड ट्राभल्सबाटै टिकट काटिएको छ । तेस्रोपटक भने धनराज गुरुङले छोरी अधिश्री, राजु केसी र प्रेम केसीलाई लिएर गएका थिए ।

यसपछि नै प्रज्ञा न्यौपानेको कनेक्सन ज्योतिसँग अरु बाक्लिएको हो । यसपछि सन् २०२३ र २०२४ मा प्रज्ञा नेपाल आएर ६ महिनाजति बसेर ज्योतिको पैसा व्यवस्थापन गरेको पाइएको हो । ज्योतिको सहकारीको रकम प्रज्ञाको नाममा सारेर उनले प्लटिङ, हाइड्रोपावर, रियल स्टेटमा लगानी गर्नुका साथै उनको, उनका माइती र परिवारका सदस्यको नाममा विभिन्न बैंकमा मोटो रकम रहेको अनुसन्धानमा देखिएको छ । प्रज्ञाको नेपालस्थित विभिन्न बैंकमा भएको रकमबारे पनि अनुसन्धान चलिरहेको छ भने मोरङमा पनि सम्पत्तिबारे खोजबिन जारी छ ।

ज्योति गुरुङको सात करोड रुपैयाँ भन्दा बढी रकम प्रज्ञाको नाममा सारेर लगानी भएकोबारे सिआइबीले गरेको अध्ययनका आधारमा उनलाई रेडकर्नर नोटिस लगाउन सक्ने देखिएको छ । यता, ज्योति अमेरिका भासिएको र सम्बन्ध विच्छेद भएपछि धनराज गुरुङ पनि ढुक्क मात्र भएका छैनन्, आफुसँग भएकी छोरी अमेरिका पठाएर उनले सासु धान्ती गुरुङलाई पनि पोखरा फर्काएका छन् र सम्बन्ध विच्छेदको नाममा जोगिने गरेका छन् जबकि दुई पटक उनी सिआइबीमा बयान दिएर फर्किएपछि सत्तापक्ष भएकै कारण जोगिएको भनेर आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *