काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीमा बाघ–चितुवा लगायतका जनावरलाई उद्धार गरी राख्नका लागि वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको रु एक करोड बढीको लगानीमा दुई उद्धार केन्द्र निर्माण भइरहेका छन् । केन्द्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको हो ।
निकुञ्जमा बाघ–चितुवालगायतका जनावरको सङ्ख्यामा वृद्धि भएपछि मध्यवर्ती क्षेत्रका बासिन्दाको खेतबारीमा देखिन थालेका छन् । गत साता बेलौरी नगरपालिकामा र साउन महिनामा दोधारा चाँदनी नगरपालिका क्षेत्रबाट निकुञ्ज कार्यालयले दुई वटा बाघको सकुशल उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ ।
प्रत्येक महिना निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीमा चितुवा देखिने गरेको छ । निकुञ्ज र कोषको टोलीले उद्धार गरी सुरक्षित स्थानमा छाडने कार्य गर्दै आएका छन् । उद्धार केन्द्र नहुँदा निकुञ्जलाई उद्धार गरिएका जनावर राख्नका लागि समस्या हुँदै आएको थियो ।
केन्द्र निर्माणको कार्यले जीवजन्तुको उद्धार गरी राख्नका लागि सहज हुने भएको छ । यस कार्यले उद्धार गरिएका जीवजन्तुलाई पुरानै वासस्थानमा पुनः स्थापन गराउन पनि सहयोग पुग्ने भएको छ । उद्धार गरी केन्द्रमा राखिएका स्वस्थ वन्यजन्तुलाई शैक्षिक प्रयोजनका लागि अध्ययन अनुसन्धान गर्न सकिने बताइएको छ ।