काठमाडौं । गृह मन्त्री रमेश लेखक र गृह सचिव गोकर्णमणि दुवाडीको सुशासनमा प्रहरीदेखि कर्मचारी परिचालनमा ह्वाङ्गै भएको छ ।
कर्मचारी परिचालनमा असफल देखिएका छन् । गृहका डन उपसचिवहरुलाई फिर्ता गर्ने मामिलामा मन्त्री र सचिव निरीह देखिएका हुन् । मन्त्रालयको बरण्डामा १ दर्जन बढी सहसचिव पुगेका छन् ।
अझैं पनि सात जना उपसचिवहरुले फष्ट क्लासका अफिसरहरुको दरबन्दी भएका जिल्ला कमाण्ड गरिरहेका छन् । गृहले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउनेसम्बन्धी कार्यविधि २०८० मा विभिन्न ६१ जिल्लामा सहसचिवको दरबन्दी र १६ जिल्लामा उपसचिवको दरबन्दी तोकेको छ तर कार्यविधि विपरित अझैं दर्जन जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी रहेका छन् ।
अहिले सहसचिव दरबन्दी रहेका सात वटा जिल्लामा उपसचिव नै जिम्मेवारीमा छन् । जस्तो डोटीमा मोहनराज जोशी,वैतडीमा दीर्घराज उपाध्याय, डडेल्धुरामा चोमेन्द्र न्यौपाने, जुम्लामा राम बहादुर शाही प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । कार्यविधि विपरित आफ्नै गृह जिल्ला दैलेखमा नवराज जैसीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ । जसमध्ये सल्यानमा सावित्रा पुन,रामेछापमा राजुप्रसाद पौडेललाई प्रमुख जिल्ला अधिकारीको रुपमा बनाएर पठाइएको छ ।
आफैले कार्यविधि अनुसार यी जिल्लामा सहसचिवको दरबन्दी तोकिएको छ । तर डोटीमा २०८१ कार्तिक १२ गतदेखि मोहनराज जोशी प्रमुख जिल्ला अधिकारीको कुर्सीमा छन् भने बैतडी जिल्लामा दीर्घराज उपाध्याय ८१ कार्तिक १२ गतेदेखि नै प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । यस्तै डडेल्धुरा जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेका चोमेन्द्र न्यौपाने २०८१ भाद्र २४ गतेदेखि अछाममा शिव प्रसाद लम्साल ८१ साल वैशाख २४ गतेदेखि प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेकामा उनलाई फिर्ता ल्याइएको छ ।
जुम्लामा राम बहादुर शाही असोज ९ गतेदेखि प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । कार्यविधिले आफ्नै गृह जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाउन मिल्दैन भन्छ तर नवराज जैसी काँग्रेस निकट कर्मचारी भएकै कारण दैलेख जिल्ला हाक्ने अवसर पाइरहेका छन् ०८१ आश्विन ७ गतेदेखि । यस्तै गरी सल्यान जिल्ला प्रशासनको नेतृत्व सावित्रा पुनले गरिरहेकी छिन्,यही पुस २८ गतेदेखि । यस्तै रामेछाप जिल्लामा राजु प्रसाद पौडेल असोज ६ गतेदेखि प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका छन् ।
गृह मन्त्रालयमा अझैं बन्धुप्रसाद बास्तोला,प्रेमप्रसाद भट्टराई लगायतका सहसचिवहरु तीन महिनादेखि गृहको बरण्डामा छन् । त्यहाँ मोरङको सिडिओबाट मन्त्रालय आएका सहसचिव प्रेमप्रसाद भट्टराई र झापाका सिडिओबाट फिर्ता बोलाइएका बन्धुप्रसाद बाँस्तोला ३ महिनादेखि गृहको बरण्डामा छन् । यस्तै नारायणप्रसाद रिसालले अझैं कुनै जिम्मेवारी पाएका छैनन् । आफ्नै गृहजिल्ला नुवाकोटबाट महिना दिन अघि गृह फिर्ता भएका रामकृष्ण अधिकारी १ महिनादेखि जिम्मेवारविहिन छन् ।
सहसचिव शंकरहरि आचार्य, अर्वपति डलरे विनोद चौधरीका कारण नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सिडिओ अरूण पोखरेल फिर्ता भएर गृहको बरण्डामा थन्काइएको छ । यस्तै बाग्लुङबाट फिर्ता भएका नेत्रप्रसाद सुवेदी र पर्वतका सिडिओ केदारनाथ शर्मादेखि बासुदेव दाहालका अलवा अवकाशको मुखमा गृहमा तानिएका नारायणप्रसाद सापकोटा, लमजुङको सिडिओबाट सारिएका बुद्धबहादुर गुरूङ र स्याङ्जाको सिडिओबाट फिर्ता बोलाईएकी सहसचिव सुनिता नेपाल पनि गृह मन्त्रालयको बरण्डामा थन्काइएको छ ।
उता त्यही गृह मन्त्री र सचिव हुन,प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको भन्दै चितवनका सिडिओ इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा तान्ने । यस्तै गत चैतमा दलित परिवारको घर भत्काइएको घटनामा सिराहाका सिडिओ बासुदेव दाहाल मन्त्रालयमा तानिए । यस्तै गत बर्ष ग्वार्काेमा २ जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारी गोली काण्ड हुँदा ललितपुरका सिडिओ रूद्रप्रसाद पण्डित गृहमा तानिए । उनलाई पछि पर्यटन विभाग हुँदै अहिले गण्डकी प्रदेश लोकसेवा आयोगमा खटाइएको छ । तर गत १५ चैत्रमा राजावादीहरुको आन्दोलनको क्रममा चितवन र सिराहाभन्दा गम्भीर कमजोरी गर्ने काठमाडौंका सिडिओ ऋषिराम तिवारीलाई अहिलेसम्म मन्त्रालय तान्ने हिम्मत समेत गर्न सकेका छैनन्,गृहमन्त्री र सचिवले ।
उता,मङ्गलबार मात्र गृहले अध्यागमन कार्यालयका ७ जना वरिष्ठ अध्यागमन अधिकृत (उपसचिव) सहित कुल १३ उपसचिवहरूको मन्त्रालयले सरुवा गरेको छ । जसमा काँग्रेस नेता जीवन परियार पत्नी सीता, बाबुलाल रेग्मी, सत्यराज जोशी, तारानाथ पनेरु, माधव प्रसाद ढुंगाना, फणीन्द्र दाहाल र सूर्य प्रसाद उपाध्याय फिर्ता भएका छन् भने मुख्य सचिव एकनारायण अर्यालका नातेदार सूर्य उपाध्याय चार महिनामै गृह मन्त्रालयमा तानिएका छन् । त्यहाँ यातायातका रैथाने ईश्वरी दत्त पनेरु, कारागार कार्यालय डिल्लीबजारका निर्देशक पूर्ण बहादुर खत्री, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य, जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी फणीन्द्र प्रसाद पौडेल, जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने र गृह मन्त्रालयका उपसचिव खेम राज उपाध्यायलाई अध्यागमनमा खटाइएको छ ।