नेपाल-भारतबीच दुई दिने वैदेशिक व्यापारको वार्ता सुरु

विविध समाचार

काठमाडौं । नेपाल र भारतबीचको वैदेशिक व्यापारलाई थप सहज एवम् सरल बनाउन दुई देशका भन्सार अधिकारीहरुको वार्ता सुरु भएको छ ।

चैत्र २८ र २९ गते दुई दिनसम्म चल्ने वार्तामा अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बीच काठमाडौंमा वार्ता सुरु भएको हो । नेपालको वार्ताटोलीको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराईले गरेका छन् भने भारतको तर्फबाट राजस्व ईन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभय कुमार श्रीवास्तवले गरेका छन् ।

छलफलमा नेपालले लागू गरेको राष्ट्रिय एकद्वार प्रणाली मार्फत विद्युतीय रुपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी–दोधारामा निर्माणाधिन एकिकृत जाँच विन्दु (ईन्टिग्रेटेड चेक प्वाईन्ट) लाई लक्षित समयसीमा भित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागू गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्ने लगायतका विषयमा समेत छलफल हुनेछ।

वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम रुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालबाहक कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ्क प्रणाली लागू गर्ने, आयात–निर्यात हुने मालवस्तुको गुणस्तर परीक्षणका लागि सीमा नाकामा गुणस्तर तथा क्वारेन्टाईन चेकजाँच प्रणालीलाई थप सुदृढ गर्ने लगायतका विषयमा छलफल हुने भन्सार विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *