काठमाडौं । गोरखा दरबारदेखि जीतगढीसम्मको एकीकरण मार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ ।
बिहीबार गोरखा दरबारको हनुमानभन्ज्याङबाट तेस्रो संस्करणको पदयात्रा सुरु भएको हो । यात्रामा रिपुमर्दन गणका ४८ जनाको टोली सहभागी छन् । उनीहरूलाई बिहीबार एक कार्यक्रमकाबीच टर्च लाइट दिएर बिदाइ गरिएको छ ।साथमा तत्कालीन समयमा पृथ्वीनारायण शाहले खडा गरेको पाँच पल्टन (पुरानो गोरख, कालीबक्स, बर्दवाणी, सवुज र श्रीनाथ) को झन्डा पनि हस्तान्तरण गरिएको छ ।
ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्दै इतिहासको जगेर्ना गर्ने पदयात्राको उदेश्य रहेको बताइएको छ । पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।पदयात्रा तनहुँ, पाल्पा हुँदै जीतगढी पुगेर टुंगिने छ । गोरखाको टोलीले पालुङटारको सतिघाट पुगेर तनहुँलाई झन्डा र टर्च हस्तान्तरण गर्नेछ । तनहुँले पाल्पालाई र पाल्पाले रुपन्देहीलाई बुझाइने भएको छ ।