काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माणमा तयारीका साथ कार्यान्वयनमा समस्या नदेखिने गरी योजना अघि बढाउने बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पौडेलले चालू आर्थिक वर्षमा बिना अध्ययनका करिब ११ हजार योजनामा बजेट लोड गरिएका कारण कार्यान्वयनमा समस्या देखिएकोले सीमित स्रोतको अत्याधिक सदुपयोगमा सरकारले ध्यान दिएको भन्दै आगामी आर्थिक वर्षको बजेट निर्माणमा पनि सीमित स्रोतलाई ध्यान दिएर अघि बढ्ने बताएका हुन् ।
यसअघि ७ हजार आयोजना रहेकोमा ११ हजार योजना थप गरी १८ हजार आयोजना रहेको र त्यसलाई अघि बढाउन समेत समस्या भएको उनले जिकिर गरेका छन् ।
उनले क्यालेन्डर बनाएर आगामी आर्थिक वर्षको बजेट निर्माणको काम भइरहेको र बजेट लेखन टोलीले काम सुरु गरिसकेको जानकारी दिए । संविधानमा उल्लेख अधिकारको सुनिश्चितताको सीमाभित्र रहेर बजेट निर्माणका गर्ने सोचका साथ गृहकार्य भइरहेको उनको भनाइ छ ।
त्यस्तै अर्थमन्त्री पौडेलले वर्तमान सरकार गठन हुनुभन्दा पहिलेका सरकारका कामकारबाहीका कारण मुलुक ग्रे लिस्टमा पुगेको भन्दै यसबाट निस्कने सन्दर्भमा समयबद्ध कार्यतालिका बनाएर अघि बढिरहेको जानकारी दिए ।
उनले ग्रे लिष्टबाट बाहिर निस्कन दुई वर्षको समय रहेपनि त्यसभन्दा अघि नै बाहिर निस्कने गरी सरकार अघि बढेको जिकिर गरे । पौडेलले सुशासन बिना समृद्धि सम्भव छैन भन्ने सोचका साथ मन्त्रालयले आफ्नो काम अघि बढाइरहेको जानकारी दिए ।