काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेकोको ओमान ३८ ओभरमा अल आउट हुँदै ११७ रनमा समेटिएको हो । ओमानलाई कम रनमा समेट्नेक्रममा नेपाली युवा बलर युवराज खत्रीले ५ विकेट लिएका थिए । लेग स्पीनर युवराजले ७ ओभरमा १५ रन खर्चेर ५ विकेट लिएका हुन् । त्यस्तै सन्तोष यादवले २ विकेट लिए भने अशोक धामी, अपराजित पौडेल र दयानन्द मण्डलले एक–एक विकेट लिए ।
त्यस्तै ओमानका लागि जीत ब्रजेश साहले सर्वाधिक ५२ रन बनाए भने सिद्धार्थ सोम्य शंकर १६ रन र प्रतिश हेमा रमेशले १० रन बनाए ।
जारी एशिया छनौटमा नेपालले शनिबार खेलेको पहिलो खेलमा यूएईलाई ५ रनले पराजित गरेको थियो भने ओमान पहिलो खेलमा अफगानिस्तानसँग ८ विकेटले पराजित भएको थियो ।