काठमाडौं । महोत्तरी– तराई मधेशमा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ ।
सोमबार ‘सतुवाइन’ मनाइएको यस क्षेत्रमा मंगलबार जुडशीतल मनाइँदैछ । विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ ।
वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा पहिलो दिन चना, जौँ, मकै, कागुनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खोरामा सखरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कुलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ ।
यसैगरी दोस्रो दिन घरपरिवारका ज्येष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्दछन् ।
मिथिलामा घरका कुलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये जुडशीतल पर्दछ । यस पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवतालाई चढाउने परम्परा छ ।
बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ । त्यसैगरी गुणकारी सजिओनको तरकारी, चनाको पीठोको बेसनबाट ‘बरी’ पकाएर ‘कढीबरी’ ९बरीलाई मथिएको दहीमा पकाएर बनाइने परिकार०, काँचो केरा, लौका, परवलसहितका तरुवा पर्वका खास परिकार मानिन्छन् ।
नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा सुपाच्य र शरीरलाई स्वस्थ्य राख्ने चनाको सातु, दाल, सजिओनको तरकारी, चनाको पीठोबाट बनाइएको बरी र दही मथेर कढी पकाएर खाइने परम्परा रहेको छ ।