खोटाङमा प्रथम रेडपाण्डा महोत्सव दुई दिनसम्म सञ्चालन

विविध समाचार

काठमाडौं । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव-२०८२’ शुरु भएको छ ।

विश्वमा लोपोन्मुख वन्यजन्तुमा पर्ने रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले नगरले पर्यटकीयस्थल हुर्लुङमा सोमबारदेखि महोत्सव आयोजना गरेको हो ।
दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना गरिएको महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृतिसँग सम्बन्धित पूजापाठ, झाँकी, रैथाने खानाका परिकार, वेषभूषा, रहनसहन तथा स्थानीय उत्पादन कक्षका रूपमा राखिएका छन् । नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरिएको महोत्सवमा रेडपाण्डा तथा थारसम्बन्धी खिचिएका तस्वीर तथा भिडियोहरूसमेत कक्षमा प्रदर्शनका लागि राखिएका छन् ।

नगरपालिकाको आयोजनामा सबै जातजातिको सहभागिता हुनेगरी महोत्सवको आयोजना गरिएकाले स्थानीय उत्साहित भएका छन् । महोत्सवमा राखिएका कक्षहरू स्थानीयवासीले आफ्नै लगानीमा राखेका छन् भने संस्कार–संस्कृति झल्कने झाँकी प्रदर्शनमा स्वतःस्फूर्त सहभागी भएका नगर कार्यालयले जनाएको छ ।
सरकारले निर्धारण गरेको एक सय वटा पर्यटकीय गन्तव्यमा पर्ने मुन्दुम ट्रेलसँग नगरलाई जोडेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को औपचारिक रूपमा शुभारम्भ गरेको छ ।

गत पुसमा औपचारिक रुपमा शुभारम्भ गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष– २०२५’मा आन्तरिक तथा बाह्य गरी करिब एक लाखको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । किराती मिथक तथा संस्कार–संस्कृतिसँग जोडिएको मुन्दुम ट्रेललाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *