सरकारी अवास्तविक प्रतिवेदनलाई तथ्यांकीय रुपमा प्रस्तुत गरेर सार्वजनिक गरिने वित्तीय सूचकहरु कति अवास्तविक र गलत छ र जनता कसरी भ्रमित गरिन्छ भन्ने कुरा सर्वसाधारणले बुझिसकेका छन् । दैनिक जीवनमा अचाक्ली महंगी, कमजोर आम्दानी र रेमिट्यान्सले जीवन धान्नुपर्ने अवस्थाबाटै मुलुकको अर्थतन्त्र कुन दिशामा चलिरहेको छ भन्ने विश्लेषण गर्न सकिन्छ ।
उद्योगधन्दा छैनन्, भएगरेका चल्न सकेका छैनन् । मुलुक आयातमै निर्भर छ, निर्यात शून्य अवस्थामा छ । तरकारी पनि आयातित खानुपर्ने अवस्था छ, श्रमशक्ति आम्दानीका लागि विदेसिनु परेको अवस्था छ । आयोजनाहरुको निर्माण कक्षुवा गतिमा छ, भ्रष्टाचार र बेथिति व्याप्त छ ।
मुलुककै आम्दानीको अवस्था नाजुक छ, राजनीतिक अस्थिरता छ । यस्तो धरासायी अवस्थामा पनि सरकारले तथ्यांकीय सकारात्मक वित्तीय सूचक सार्वजनिक गरेर जनतालाई भ्रममा पार्ने काम गररहेको छ । विदेशी निकायहरुले पनि सरकारी तथ्यांकलाई आधार मानेरै वित्तीय प्रतिवेदनहरु प्रस्तुत गर्ने हुँदा वास्तविक अवस्था बाहिर आउन सकेको हुँदैन । मुलुक निकै कमजोर अवस्थामा पुगेको छ, तर सरकारले हरेक वर्ष सकारात्मक आर्थिक वृद्धिदर देखाएर जनताको आँखामा छारो हाल्ने काम गरेको छ । वास्तविकता केलाउने हो भने दशकदेखि नै मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक अवस्थामा गइरहेको विश्लेषण गर्न सकिन्छ ।
निश्चत अवधिमा अर्थतन्त्रका समग्र परिसूचकहरुमा देखिने सकारात्मक परिवर्तन वा वृद्धि नै आर्थिक वृद्धि हो । आर्थिक वृद्धिका लागि उत्पादन, लगानी, रोजगारी, व्यापार, आय, मूल्य, बचत, उपभोग सबै आधारहरुको सूचकमा वृद्धि हुनुपर्दछ । आर्थिक क्षेत्रका यी आधारहरुका औसत वृद्धिको मापन नै आर्थिक वृद्धि हो । गत बुधबार राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो त्रैमास (साउन–पुस) को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेको छ ।
यस त्रैमासमा ५.१ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ । तथ्यांकले यातायात क्षेत्रमा भएको वृद्धि, निर्माण क्षेत्रमा विस्तार, कृषि उत्पादन वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि र वित्तीय मध्यस्थताको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धिले अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने अनुमान गरेको छ । अर्थतन्त्रका १८ वटा क्षेत्रलाई समेटेर तथ्यांकले आर्थिक वृद्धिदरको अनुमान गर्दछ ।
तर वास्तविकता भने भिन्न देखिन्छ । अर्थतन्त्रका यी सबै क्षेत्र दिनानुदिन कमजोर बन्दै गइरहेको देख्न सकिन्छ । राजनीतिक अस्थिरता, प्रदर्शन, लगानीकर्ताको अरुची जस्ता पक्षहरुले गर्दा आर्थिक आधारहरु अझै कमजोर बन्दै जाने देखिन्छ । श्रमशक्ति पलायन बढिरहँदा उद्यमशिलताको क्षेत्र कमजोर बनेको छ । कृषि क्षेत्रमा मल, बिउ, श्रमशक्तिको अभाव खड्किरहेको छ । कृषि उत्पादन केही वर्षमै दोब्बरभन्दा बढीले घटेको छ । युवा श्रमशक्ति पलायन हुँदा कृषि भूमि बाँझो रहने समस्या हरेक वर्ष बढिरहेको छ । सकारात्मक आर्थिक वृद्धिदरको कल्पना गरिरहँदा वास्तविक अवस्था के छ र जनता कुन अवस्थाबाट गुज्रिरहेका छन् भन्ने बजार विश्लेषण भएको पाइँदैन ।
कागजी हचुवाको भरमा संकलित तथ्यांक सार्वजनिक गरेर जनतालाई भ्रम मात्रै पार्ने काम हुने गर्दछ । मुलुकको स्वदेशी उत्पादन छैन । विदेश पलायनले गर्दा व्यापार÷व्यवसाय ठप्प छ । सटर खाली छन् । मुलुकको आफ्नो उत्पादन केही छैन । कृषिजन्य उत्पादनका लागि पनि परनिर्भर बन्नुपर्ने अवस्था छ । आयात–निर्यातको अनुपात ९० प्रतिशतभन्दा माथि छ, जसकारण मुलुकको ठूलो पुँजी मुलुकबाट बाहिरिने गर्छ । पुँजी पलायनको सन्तुलन श्रमशक्ति बिक्री गरेर आर्जित गरिएको रेमिट्यान्सले मिलाउने गरेको छ । निर्यातको अवस्था नाजुक भएकै कारण विदेशी पुँजी भित्रिने अवस्था छैन ।
मुलुक परनिर्भर बनेको छ । स्वनिर्भर बन्नका लागि सरकारले उत्पादनमुलक क्षेत्रलाई प्राथमिकतामा राख्न सकेको छैन । वास्तवमा सरकारको आम्दानीले चालु खर्च धान्नै मुस्किल परेको अवस्था छ । प्रदेश कामविहीन अवस्थामा छन् र प्रदेशको औचित्य पनि देखिँदैन । राजनीतिक भर्तीकेन्द्र बनाइएको प्रदेशले राज्यको ठूलो बजेट सक्ने गरेको छ ।
मुलुक यस्तो नाजुक अवस्थाबाट गुज्रिरहेको छ । सरकारले उत्पादनमुलक क्षेत्रको विकासका लागि केही पनि गर्न सकेको छैन । पूर्वाधार विकास र निर्माणको काम सकिन दशकौं लाग्ने र खर्च हरेक वर्ष बढेर बजेटले धान्न नसक्ने अवस्थामा पुगेको छ । उद्यमी, व्यापारी, व्यवसायी, सक्षम जनशक्ति, विद्यार्थी पलायन भइरहेका छन् । भएगरेका उद्योग कलकारखाना बन्द छन् । जलविद्युतका नाममा ठगीधन्दा उस्तै व्याप्त छ ।
अस्थिरता र पूर्वाधार अभावका कारण पर्यटन भित्र्याउन नसकेको अवस्था छ । नीतिगत भ्रष्टाचार र राजनीतिक लुटतन्त्र उस्तै छ । महंगी दिनानुदिन बढ्दो छ र आम्दानीले खर्च धान्नै मुस्किल छ । जनता निराश छन् । अर्थतन्त्रका क्षेत्रहरु जोखिम र धरासायी अवस्थामा छन् । आर्थिक वृद्धिका स्रोत तथा क्षेत्रहरुको अवस्था नाजुक छ । न त उत्पादनमा वृद्धि देखिन्छ, न त लगानी नै भएको पाइन्छ ।
लगानीकर्ता लगानी गर्न डराइरहेका छन् । सरकार संरक्षित सीमित फाइदा लिएर लगानी गर्ने र राज्यकोषको दोहन गर्नेहरु मात्रै लगानी गर्न अगाडि बढेका देखिन्छन् । रोजगारीको अवस्था कस्तो छ भन्ने कुरा युवा श्रमशक्तिको पलायनले देखाउँछ । व्यापार र आयको अवस्था उस्तै छ । तर आशा भने समृद्धि र राम्रो आर्थिक वृद्धिदरको राखिन्छ ? प्रतिवेदनमा राम्रो आर्थिक वृद्धिदर हुने उल्लेख गरिन्छ । यस्ता विरुप अवस्था हुँदा पनि अर्थतन्त्रमा सुधार भइरहेको भनेर कागजी प्रतिवेदन सार्वजनिक गरेर सरकारले जनतालाई भ्रम फैलाउने काम गरिरहेको छ ।