रामचन्द्र बस्नेत
काठमाडौं । राजनीतिक दलहरुप्रति सर्वसाधारण जनतामा वितृष्णा जाग्दै गएपछि जनताले स्वतन्त्र रोज्न थालेका थिए । स्वतन्त्रहरु व्यक्तिहरु पनि राजनीतिमा होमिन पुगेका थिए । स्वतन्त्रको नाममा कसैले पार्टी नै खोले कसैले बिनापार्टी स्वतन्त्र रुपमा राजनीतिमा विस्तारै लोकप्रियता कमाउँदै गए बालेन शाह, रवि लामिछाने र हर्क साङपाङहरुले गत स्थानीय र आमनिर्वाचनमा केही सिटमा जित हासिल गरेका थिए । निर्वाचनमा जित हासिल गर्नुका साथै जनतामाझ लोकप्रिय पनि बन्दै गए ।
तर, छोटो समयमै लोकप्रिय बन्दै गएका तिनै व्यक्तिहरु एकपछि अर्को काण्डमा फसेर कोही जेलको चिसो हावा खाने पुगेका छन् भने कोही विवादमा तानिएका छन् । सहकारी ठगी कान्डामा मुछिएका रास्वपाका सभापति रवि लामिछाने जेल परेका छन् भने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कर्मचारी नियुक्तिको विषयलाई लिएर विवादमा फसेका छन् । सो काण्डमा महानगरपालिकाभित्रका २८ वटा वडाका अध्यक्ष, उपमेयर र कर्मचारीहरु एक भएका छन् भने मेयर बालेन शाह एक्लिँदै गएका छन् । त्यो काण्डले गर्दा मेयर बालेन शाह पनि अख्तियारको फन्दामा नपर्लान् भन्न सकिँदैन ।
मेयर बालेनलाई केन्द्रीय सरकारलाई अपहेलना गरेको र महानगरका कार्यकारी प्रमुखलाई काम गर्न नदिएको, पटक–पटक कार्यकारी अधिकृत फेरबदल गरेको लगायतका आरोप लागेको छ । त्योसँगै ३५ वटा स्थानीय तहलाई एम्बुलेन्स बाड्ने नाममा खरिद प्रक्रियामा घोटाला गरेको आरोपमा मेयर बालेनविरुद्ध अख्तियारमा उजुरीसमेत परेको छ ।
त्यसैगरी विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले दिएको निर्देशन अनुसार काम नगरेको, उर्जामन्त्रीलाई अपमान गरेको, भारतसँग विद्युत् सम्बन्धी परामर्श गर्दा सरकारसँग रायसुझाव नलिएको जस्ता आरोप छन् । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक घिसिङ पहिला जति हाइहाई भएका थिए । पछिल्लो समयमा आएर आफ्नै घमण्डका कारण विवादमा फस्दै गएका थिए ।
व्यक्तिगत स्वार्थ र घमण्डकै कारण सरकार घिसिङलाई प्राधिकरणबाट हटाउन वाध्य भयो । सरकारले सेवाबाट हटाए तापनि घिसिङ पुनर्वहालीको लागि सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका थिए । तर सर्वोच्चले पनि घिसिङलाई बेवास्ता गरेपछि उनी आफ्ना समर्थकलाई सडक आन्दोलन गर्न उक्साएका छन् । त्योसँगै कुलमानविरुद्ध विद्युत प्राधिकरणभित्र भएका विकृति विसंगति सँगै भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी परिसकेको छ । त्यसले गर्दा कुलमान पनि भ्रष्टाचारमा मुछिने प्रवल सम्भावना बढेर गएको छ । त्यसले गर्दा पनि एक्कासी उदाएका स्वतन्त्रहरु पछिल्लो समयमा आएर नराम्रोसँग चुक्न पुगेका छन् ।