काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् ।
राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै काठमाडौंको बिजुलीबजारमा आज प्रदर्शन गर्ने भएको छ । यसअघि राप्रपाले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्ने निर्णय गरेको जानकारी दिएको थियो ।यो प्रदर्शनबाट नडराउन पनि सरकारलाई भनेका छन् ।
गृहमन्त्रालयले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै निषेधित क्षेत्र तोड्न खोजे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो ।राप्रपाले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंका प्रहरी र जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुले आवश्यक सुरक्षा रणनीति अपनाइएको जनाएका छन् ।
यसअघि चैत १५ गते राप्रपाका नेताहरुको समेत सहभागितामा काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक भएको थियो । त्यसपछि राप्रपाले चैत २६ गते बल्खुमा गरेको प्रदर्शन भने शान्तिपूर्ण र मर्यादित देखिन्थ्यो ।
आज गर्ने प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने भनिएपछि सुरक्षा व्यस्था चुस्त पारिएको छ ।