काठमाडौं । दुई तिहाई बहुमतको सरकारले नौ महिना पार गरिसक्दा पनि नीतिगत भ्रष्टाचार भने नियन्त्रण गर्न सकेको छैन । सरकारले नीतिगत भ्रष्टाचार रोक्न नसक्दा जताततै अनियमितता, विकृति र विसंगति फस्टाउँदै गएको छ । निजामती कर्मचारीहरुले देश र जनताको लागि दिनुपर्ने सेवासुविधा दिन सकेका छैनन् । उल्टै सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिएर असुलीधन्दा चलाइरहेका छन् ।
त्यसको गतिलो उदाहरण लिन सकिन्छ कम्पनी रजिष्ट्रारको कार्यालयलाई । कम्पनी रजिष्ट्रारमा विचौलियाहरु लेखनदासहरुको सेटिङमा कर्मचारीहरु चल्ने गरेका छन् । कम्पनी रजिष्ट्रारमा सेवाग्राही आफैले लिएर गएको काममा ढिलासुस्ती गर्ने र विचौलियामार्फत् गएको काम छिटोछरितो ढंगले हुने प्रवृत्तिले गर्दा सर्वसाधारण सधैं मारमा पर्ने गरेका छन् । कतिपय कर्मचारीहरु त नियमित तलब सुविधाभन्दा अन्य आम्दानीको लोभमा वर्षौंसम्म कम्पनी रजिष्ट्रारको कार्यालयमा बस्न रुचाउँछन् । त्यसको उदाहरण बनेकिछिन् सहायक रजिष्ट्रार संगीता चौलागाईं । उनी विगत चार वर्षदेखि अन्यत्र सरुवा नभई कम्पनी रजिष्ट्रार कार्यालयमा सहायक रजिष्ट्रारको जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।
संगीता कम्पनी रजिष्ट्रारबाट आएको कमिसनले सबै शक्तिकेन्द्रसँग सेटिङ मिलाएर चार÷चार वर्षसम्म कम्पनी रजिष्ट्रारमा बस्न सफल भएकी छिन् । प्रायःजसो निजामती कर्मचारीहरु दुई वर्षभन्दा बढी एउटै कार्यालयमा बस्ने गरेका छैनन् । तर, कम्पनी रजिष्ट्रार कार्यालयमा खान र खुवाउन माहिर कर्मचारीहरु भने सेटिङ मिलाएर वर्षौंसम्म एउटै कार्यालयमा बस्न सफल भएका छन् । त्यसैगरी सहायक रजिष्ट्रार नारायण विष्ट कम्पनी रजिष्ट्रार कार्यालयबाट उद्योग विभागमा सरुवा भएका थिए । विष्ट फेरि सेटिङ मिलाएर उद्योग विभागबाट कम्पनी रजिष्ट्रारमै फर्किएको लामो समय भइसकेको छ ।
त्योसँगै कम्पनी रजिष्ट्रारका भीम पराजुली र रविन कार्कीको छुट्टै सेटिङ चल्ने गरेको छ । अर्कोतिर लिमिटेड र प्रा.लि.मा योगेन्द्रविक्रम शाह, सुमन भट्टाराई, ईश्वर पौडेलको सेटिङ छुट्टै छ । कम्पनी रजिष्ट्रार कार्यालयले सेवाग्राहीको काम छिटोछरितो ढंगले गर्नुपर्नेमा त्यो नगरी कर्मचारीहरुबीच छुट्टाछुट्टै सेटिङ धन्दाको अखडा बनाएका छन् ।