बिटपत्रकारिताको नाममा पितपत्रकारिता फस्टाउँदै

राजनीति समाचार

काठमाडौं । पञ्चायत कालका पत्रकारहरुले राजनीतिक, आर्थिक, सामाजिक, स्वाथ्य, शिक्षा, खेलकूद, मनोरञ्जन, उद्योगी, व्यवसायी, कर्मचारी, सुरक्षा निकायलगायत सबैक्षेत्रलाई समेटेर समाचार सम्प्रेषण गर्दथे । त्यतिबेलाको पत्रकारितामा सबै क्षेत्र समेटिने मात्रै होइन समाचार पनि सत्य, तथ्यको आधारमा सम्प्रेषण हुने गर्दथ्यो । तर, २०४६ सालपछि प्रजातन्त्र पुनस्र्थापना हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपालको पत्रकारिता विभिन्न बिटमा विभाजित भएको छ । विभाजित मात्रै भएका छैनन् कि बिट पत्रकारिताको नाममा समाचारको स्रोत र सूचनामा समेत ‘सिन्डिकेट’ हुन थालेको छ । त्यसमा राजनीतिक बिटको पत्रकारितामा पार्टीको मात्रै नभएर गुटगत नेताको छुट्टै सञ्चारमाध्यम बनेको छ ।

अहिले बिट पत्रकारिताको नाममा ‘पितपत्रकारिता’ व्यापक फस्टाएको छ । पित पत्रकारिता फस्टाएपछि सम्बन्धित बिटको पत्रकारहरुले त्यस क्षेत्रको माफियाहरुको संरक्षण गर्न पिट पत्रकारहरुले संगठन खोलेका छन् । त्यसमा बैंक माफियाहरुको संरक्षण गर्न ‘नेपाल आर्थिक पत्रकार समाज (सेजन)’ र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) खडा गरिएको छ । नाफिजमा पनि महिला विभाग गठन गरेर ‘महिला आर्थिक पत्रकार संघ (फेजा)’ गठन गरिएको छ । त्यतिसम्म त ठिकै थियो उता आर्थिक पत्रकारभित्रै ‘इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) खोलेर अर्को उपद्रो मच्चाइएको छ । सो इमानले बैंक वित्तीय संस्थाका सिइआयोदेखि, उद्योगी, व्यापारी र नेपाल राष्ट्र बैंकलाईसमेत गुमारहामा पार्न सफल भएको छ ।

इमानको आडमा केटिएम भ्वाइसका सञ्चालकले केही हप्ता अगाडि सिंहदरबारभित्र रहेको सार्वजनिक सेवा प्रसारण संस्थाको हलमा ‘वित्तीय साक्षरता’ नामक कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा आफ्नो मिडियालाई सहयोग गर्ने बैंक÷वित्तीय संस्थाका सिइओ, विभिन्न बीमा कम्पनीका सञ्चालकहरु र राष्ट्र बैंकका कर्मचारीहरुलाई अतिथिमा आमन्त्रण गरिएको थियो । उक्त कार्यममा सार्वजनिक प्रशारण संस्थाका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टलाई पनि अतिथि बनाइएको थियो । यसरी आर्थिक पत्रकारिताका नामम पत्रकारहरुको विभिन्न संघसंगठन गठन गरेर बैंक माफियाहरुलाई संरक्षण गर्ने अखडा बनाइएको छ । त्योसँगै वैदेशिक रोजगार व्यवसायीको नाममा मानव तस्करीको संरक्षण गर्न वैदेशिक रोजगार पत्रकार समाज गठन गरिएको छ । त्यसैगरी स्वास्थ्यमा पनि राजनीतिक छुट्टैछुट्टै विचार भएका दलनिकट पत्रकारहरुको संस्था गठन गरिएको छ ।

त्यसमा हेल्थ केयर पत्रकार समाज र स्वास्थ्य पत्रकार मञ्च गरी दुईवटा संस्था रहेका छन् । त्यसैगरी खेलकुद पत्रकारहरुको छुट्टै समूह रहेको छ । उता सहकारीसम्बन्धी पत्रकारहरु छुट्टै समूह गठन गरिएको छ । शिक्षासम्बन्धी पत्रकारहरुको ‘शिक्षा पत्रकार समाज’ गठन गरिएको छ । त्यसैगरी संसदको रिपोर्टिङ गर्ने पत्रकारहरुले छुट्टै ‘संसदीय मामिला पत्रकार समाज’ गठन गरेका छन् । त्योसँगै राजनीटिक बिटका पत्रकारहरुमा दलैपिच्छेका संघसंगठन रहेका छन् । त्यसमा कांग्रेस निकटको नेपाल प्रेस युनियन, एमाले निकटको प्रेस चौतारी नेपाल, माओवादी केन्द्र निकटको प्रेस सेन्टर नेपाल, एकीकृत समाजवादी पार्टी निकटको समाजवादी प्रेस संगठन र मधेशवादी दल लगायत अन्य दलहरु निकटको पनि छुट्टाछुट्टै पत्रकार संघसंगठन रहेका छन् ।

यस्ता संघसंगठनमा आबद्ध पदाधिकारी र सदस्यहरुले संस्थाको नाम भँजाएर आफ्नो मिडिया चलाउने, रोजीरोटीको व्यवस्था गर्ने र राजनीतिक दलहरुलाई प्रयोग गरेर फाइदा लिने काम गर्दै आएका छन् । त्योसँगै यस्ता संघसंगठनमा आबद्ध पत्रकारहरुका नेताहरुले राजनीटिक पार्टीका नेता, उद्योगी, व्यापारी, कर्मचारी र सुरक्षा निकायलाई प्रयोग गर्ने गरेका छन् । पिट पत्रकारिता फस्टाउन थालेपछि समग्र क्षेत्र समेटेर पत्रकारिता गर्ने बिट मिडियाहरु ओझेलमा पर्न थालेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *