कम्युनिस्ट पार्टीमा तीन नेताबीचको मारमुग्री कहिलेसम्म ?

राजनीति समाचार

रामचन्द्र बस्नेत
नेपालका राजनीतिक दलका नेताहरु एकले अर्काको खुट्टा तान्ने र सत्तामा पुग्न हानथाप गरिरहन्छन् ।सत्ताको लागि पटक–पटक पवित्र, अपवित्र, स्वाभाविक, अस्वाभाविक गठबन्धन गर्न पछि पर्दैनन् । कांग्रेसहितको तत्कालीन गठबन्धन फुटाएर नेकपा एमालेसँग गठबन्धन गर्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले देशको प्रधानमन्त्रीमा विराजमान छन् । अहिलेको पाँच दलीय गठबन्धनमध्येमा एमाले, माओवादी र एकीकृत समाजवादी कम्युनिस्ट धारका हुन् भने रास्वपा र अशोक राईको पार्टी फरक धारका हुन् ।

तर, कम्यनिस्ट धारका तीनवटा पार्टीका नेताबीच सरकारमा बस्दा र बाहिर बस्दा मनमुटाव एथावत छ । सरकारमा सामेल भएको एकीकृत समाजवादीका अध्यक्ष मावध नेपाललाई यतान उता पार्ने गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भित्री खेलोफड्को गरिरहेका छन् । एकीकृत समाजवादी सत्ता साझेदार भए तापनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै मानभाउ दिएका छैनन् । त्यसै कारणले एकीकृत समाजवादीका अध्यक्ष नेपाल दोधारमा परेका छन् । किन कि सरकार छोडौं भने सांसदहरु एमालेले चोर्ने डर, नछोडौं भने सरकारमा बसेको कुनै मानभाउ छैन ।

तत्कालीन गठबन्धन सरकारको प्रधानमन्त्री हुँदा प्रचण्डले समाजवादी मोर्चा समेत बनाउन भ्याएका थिए । अहिले त्यो समाजवादी मोर्चा कतातिर गयो ? समाजवादी मोर्चा हराए तापनि अहिले तीनवटा कम्युनिस्ट पार्टी सरकारमै छन् । त्यो पनि एउटा मोर्चा नै हो । तर, त्रिमूर्ति मोर्चाभित्र भाडभैलो भइराखेको छ । हुँदाहुँदा पाँच दलीय गठबन्धन सरकारले ल्याएको बजेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले असहमति जनाउँदै खरो रुपमा विरोध गरेका छन् ।

त्यसको अर्थ पाँच दलीय गठबन्धन सरकार पनि धरमराउने देखिन्छ । एकातिर यो अवस्था सिर्जना भएको छ भने अर्कोतिर उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीलाई मान्यता दिन सर्वोच्च अदालतमा मुद्दा दिएका थिए । त्यसको फैसला अहिलेसम्म आउन सकेको छैन । सो फैसला यादव र राई कसको पक्षमा आउने हो त्यो निश्चित छैन । यदि उपेन्द्र यादवको पक्षमा फैसला भएको खण्डमा माधव नेपाल र उपेन्द्र यादवले सरकार परिवर्तन गर्न सक्छन् । त्यसको डिजाइनमा कांग्रेसले गर्न सक्छ । त्योसँगै भारतमा आमनिर्वाचन सम्पन्न भएको छ ।

भारतमा नयाँ सरकार बनेपछि नेपालको सरकार पनि परिवर्तन हुने देखिन्छ । त्यसै कारणले एमाले अध्यक्ष ओलीले आफू संलग्न सरकारले ल्याएको बजेटमाथि प्रश्न उठाएको हुनुपर्छ । तीन कम्युनिस्ट नेताबीचको समन्वयकारी भूमिका नहुँदा यो सरकारको आयु पनि त्यति लामो देखिँदैन । यदि यो सरकारलाई लामो समयसम्म लाने हो भने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी एक भएर अगाडि बढ्नुपर्ने देखिन्छ । तर, अहिले नै यी तीन कम्युनिस्ट नेताहरु मिल्ने सम्भावना छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *