काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आज नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७६ औँ वर्षको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार दिउँसो पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न लागिएको एमाले केन्द्रीय कार्यालयले जानकारी गराएको हो।
७६ वर्षअघि २००६ साल वैशाख ९ गते भारतको कोलकाताको श्याम बजारस्थित एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।
नेपालमा जहानिया राणा शासन रहेको बेला भूमिगत रूपमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले शोषण, उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लिएको थियो ।
पार्टीका तत्कालीन संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र संस्थापक नेतामा नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए । कम्युनिष्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि र सोभियत सङ्घमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो ।
कार्यक्रममा नेपाली कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने पनि कार्यक्रम रहेको छ। कार्यक्रममा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) छन् ।
कार्यक्रममा तत्कालीन नेकपा (माले) र कोर्डिनेसन केन्द्र निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक हुनेछ ।
यस्तै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पार्टीले पनि विविध कार्यक्रम गरी दिवस मनाउँदै छन् ।