काठमाडौं । भारतको जम्मुकश्मिरको पहलगाममा आतंककारीहरुले गरेको आक्रमणमा नेपाली सहित २७ जनाको मृत्यु भएको छ ।
दैनिक भाष्करले पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जना मारिएको जनाइएको छ। जम्मुकश्मीरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरेर नै आक्रमण भएको थियो । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ ।त्यहाँ घुम्न गएका पर्यटकहरुमाथि मंगलबार गोली प्रहार गरी हत्या गरिएको हो ।
मृतकहरुको विवरणमा सन्दिप न्यौपाने र उनको देश नेपाल उल्लेख गरिएको छ । त्यसभन्दा मुनि बितन अधिकारीको नाम समेत रहेकोले कतिपयले दुई जना नेपाली मारिएको लेखेका छन् । तर अधिकारीको देश खुलाइएको छैन । त्यसैले हालसम्म एक जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको निन्दा गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरे ।आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आतंकवादीहरुले नियन्त्रणमा लिएर नाम सोधी–सोधी पर्यटकलाई गोली हानेर मारेको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ । मारिनेहरुमा नेपाल र यूएईका नागरिकसहित भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका छन् ।
दैनिक भाष्करका अनुसार मारिनेको संख्या २७ पुगेको छ । कतिपय मिडियाहरुले भने २६ जना मारिएको लेखेका छन् । यसअघि सन् २०१९ को फेब्रुअरीमा जम्मुकश्मिरकै पुलवामा भएको आतकंकारी आक्रमणमा ४० भारतीय सैनिक मारिएका थिए ।
मंगलबारको हमलापछि राजधानी दिल्ली र मुम्बईसहित भारतभर उच्च सतर्कता अपनाइएको छ ।