काठमाडौं । एमालेबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका राजकुमार गुप्ताले मन्त्रालय सम्हालेको दश महिना हाराहारी भइसकेको छ । दश महिनाको अवधिमा मन्त्री गुप्ताले सामान्य प्रशासन मन्त्रालय चलायमान बनाउन नसकेको आरोप खेपिरहेका छन् । गुप्तामन्त्री भएको छ महिनासम्म त तत्तकालीन सचिव भरतमणि सुवेदीसँग टसल परेकै कारण मन्त्री गुप्ताले काम गर्न नसकेको आरोप लागेको थियो । तर, हालका सचिव रविलाल पन्थसँग भने मन्त्री गुप्ताको सम्बन्ध राम्रो भएको बताइन्छ ।
संघीय मामिला मन्त्री र सविचको सम्बन्ध राम्रो भएकै कारण कर्मचारी सरुवामा उनीहरुबीच मिलोमतो हुने गरेको छ । खरिदार, नासु, शाखा अधिकृत जस्ता तत्लोतहका कर्मचारी सरुवा उपसचिव र सहसचिवले गर्दा हुनेमा त्यो नगरी त्यसको लागि मन्त्री र सचिव नै चाहिने बनाइएको छ । कुनै कर्मचारीलाई भैपरी आइपरेको खण्डमा बिदा मिलाउने अथवा पाइक पर्ने ठाउँमा सरुवा हुनु परेमा उपसचिव र सहसचिवले गर्दा हुने थियो । तर, संघीय मामिला सचिवमा पन्थ आइसकेपछि मन्त्री गुप्ता र सचिवको निर्णयबिना कुनै कर्मचारीले सरुवा अथाव बिदा लिन पाउने छैनन् । त्यसकारण खरिदार, नासु, र शाखा अधिकृतहरुलाई समस्या परेको खण्डमा सिधै मन्त्री र सचिवलाई भेट्नुपर्ने नियम बनाइएको छ ।
मन्त्री र सचिवको त्यो नियमले गर्दा कर्मचारीहरु आक्रोशित भएका छन् । कतिपय संघीय मामिला मन्त्रालयले गर्नुपर्ने काम पनि नगरेपछि सिधै प्रधानमन्त्री कार्यालय धाउनुपर्ने भएको गुनोसो कर्मचारीले गर्न थालेका छन् । मन्त्री गुप्ता पनि एक कार्यक्रममा भाग लिनको लागि अमेरिका भ्रमणमा निस्किएका छन् । मन्त्री गुप्ता अमेरिका गएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको काम लथालिङ्ग भएको छ । संघीय मन्त्रालयले ३५ जना सहसचिवको सरुवा गरेको हल्ला चलाएको हप्तौंभन्दा बढी भइसकेको छ । तर, ती ३५ जना सह–सचिवहरुलाई कसलाई कहाँ सरुवा गरियो भन्ने सूचना सार्वजनिक गरिएको छैन ।