काठमाडौं । तामाकोशी सन्देश साप्ताहिकले विगत लामो समयदेखि राजनीतिक दल, कर्मचारी, सुरक्षा निकाय र सरकारी गैरसरकारी संघ, संस्थाभित्र हुने विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध समाचार सम्प्रेषण गर्दै आएको छ । कम्पनि रजिष्ट्रार कार्यालयभित्र हुने विकृति, विसंगति र ढिलासुस्तीविरुद्ध पनि लामो समयदेखि समाचार प्रकाशित गर्दै आएको थियो । त्यसै मेसोमा गत हप्ता वैशाख ३ गतेको वर्ष १४ अबैं ३३ मा कम्पनि रजिष्ट्रार कार्यालयभित्र हुने गरेको विकृति, विसंगति उजागर गरेर समाचार सम्प्रेषण गरेको थियो ।
समाचारप्रति चित्त् नबुझे कुनै पनि संघसंस्था तथा व्यक्तिले पहिला सम्बन्धित पत्रिकाका सम्पादकसँग समन्वय गरी खण्डन गर्न आग्रह गर्ने चलन छ । यदि खण्डन गर्न आग्रह गर्दा पनि खण्डन नछापिएको खण्डमा पत्रपत्रिकाको नियमक निकाय प्रेस काउन्सिल नेपालमा गुनासो गर्ने बाटो पनि खुल्ला छ । तर, यी दुवै बाटा हुँदाहुँदै समाचार सम्प्रेषण गरेकै आधारमा सम्बन्धित पत्रिकाका प्रवन्ध सम्पादकलाई फोन गरेर ‘हेलो .. तपाईँ तामाकोशी सन्देशको पृथीबहादुर बस्नेत हो ? म कम्पनि रजिष्ट्रार कार्यालयबाट रविन कार्की बोलेको हुँ ।
‘म पनि यति वर्ष पत्रकारिता गरेर कम्पनी रजिष्ट्रार कार्यालयमा आएको हुँ, यो खोज पत्रकारिता हो ? तपाईंलाई कम्पनि रजिष्ट्रार कार्यालयको समाचार कसले दियो ? त्यो व्यक्तिलाई लिएर तपाईं तुरुन्त कम्पनि रजिस्टार कार्यालय आउनुहोस्’ भन्दै ९८४२१२६२६८ बाट धम्कीपूर्ण भाषा बोलेका थिए । उनले, ‘प्रेस काउन्सिलका कर्मचारी र दाइलाई पनि भनिसकेको छु, यदि तपाईं आज यहाँ आउनुभएन भने भोलि हेर्नुहोला’ भन्नेजस्तो धम्कीपूर्ण शब्दवली फोनमा प्रयोग गरेका थिए ।
त्यसले गर्दा नेपालको पत्रकारितक्षेत्र जोखिममा पर्दै गएको आभास हुन्छ । पछिल्लो समय देश चरम भ्रष्टाचार, विकृति, विसंगति र बेथितिमा गुज्रिइरहेको अवस्थामा त्यसको उजागर गरी समाचार सम्प्रेषण गर्दा पत्रकारहरुले आक्रमणको सामना गर्नुपरेको छ । त्यसको ज्वलन्त उदाहरण हो, समाचारको विषयलाई लिएर कम्पनि रजिष्ट्रार कार्यालयबाट आएको धम्कीपूर्ण फोन ।