सत्तासिन इतर पक्षबाट प्रधानमन्त्री ओलीलाई असहयोग, देउवा आफैँ प्रधानमन्त्री बन्ने दाउमा !

राजनीति समाचार

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकारको कामकारबाहीलाई लिएर कांग्रेस इतरपक्षले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएको थियो । सत्तासिन दल कांग्रेसबाटै असहयोग भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा पर्न थालेका छन् । सत्तासिन दलबीच असन्तुष्टि बढेपछि पतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि सरकारविरुद्ध ‘आगो’मा घिउ थप्ने काम गर्दै आएको छ । कांग्रेसको संस्थापन पक्षले सरकारको समर्थन गरे तापनि सरकारविरुद्ध शिक्षकहरु सडकमा उत्रिँदा सरकारलाई सहयोग हुने काम इतरपक्षले गरेको छैन ।

सरकारलाई शिक्षकहरुले असहयोग गरिरहँदा एमालेबाट शिक्षामन्त्री बनेकी विद्या भट्टराईले पदबाट राजीना दिएर प्रधानमन्त्रीलाई झन् अप्ठ्यारोमा पारिदिएकी छिन् । उता गणतन्त्र विरोधीहरुले सडकमा आन्दोलन गरिरहेका छन् । व्यवस्था विरोधीहरुले सडकमा आन्दोलन मात्रै गरेका छैनन् प्रधानमन्त्री ओलीको राजीनामासमेत माग्न थालेका छन् । त्योसँगै गणतन्त्रवादी दल नेकपा माओवादी केन्द्रले पनि तिनै गणतन्त्रविरोधी आन्दोलनकारी र शिक्षकहरुलाई उचालेर सरकारलाई अप्ठ्यारोमा पार्ने काम गरिरहेका छन् ।

सत्तासाझेदार दल कांग्रेसका इतरपक्ष नेताहरुले पनि आफ्ना मन्त्रीहरु सरकारमा हुँदाहुँदै सरकारलाई असहयोग गरिरहेका छन् । तीन हप्तादेखिको शिक्षक आन्दोलनले सरकारलाई अप्ठ्यारो पारिरहँदा सत्तासाझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवा परिवारसहित स्वास्थ्योपचारको नाममा विदेश भ्रमणमा निस्किएका छन् । सभापति देउवा स्वास्थ्य उपचारसँगै राजनीतिक भेटघाट गर्ने र सत्ताबाट ओलीलाई हटाई गणतन्त्रवादीहरुको सहयोगमा आफू प्रधानमन्त्री बन्ने चाँजोपाँजो मिलाउन विदेश भ्रमण गएको हुन सक्ने आँकलन गरिएको छ ।

किन कि प्रधानमन्त्री ओलीलाई छिमेकी मुलुक भारतले पनि सरकारको नेतृत्व गरेको दश महिनासम्म भ्रमणमा नबोलाउनु भनेको उनीसँग भारत रुष्ट हुनुहो । ओली प्रधानमन्त्री भएदेखि नै भारतले उनलाई रुचाएको थिएन । त्यसले गर्दा पनि जेठको पहिलो वा तेस्रो हप्तासम्ममा कांग्रेस सभापति देउवा आफैं प्रधानमन्त्री बन्ने योजना बनाइरहेको बुझिन्छ । सत्तासाझेदार दल एमाले र कांग्रेसबीच देखिएको असन्तुष्टिले गर्दा आगामी बजेट पनि प्रभावित हुने देखिन्छ । प्रधानमन्त्री ओलीलाई सत्तासाझेदार दल कांग्रेसदेखि प्रतिपक्षी दल माओवादी केन्द्र र गणतन्त्र विरोधी पक्षहरुले चौतर्फी घेराबन्दीमा पारिराखेका छन् ।

त्यसले गर्दा सरकार परिवर्तन हुने सम्भावना बढ्दै गएको छ । कांग्रेस र एमालेबीचको भागबन्डाले गर्दा राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न समस्या परेको छ । कांग्रेस र एमाले दुई ठूला दलको सरकारले पनि राष्ट्र बैंकको गभर्नर समयमा नियुक्ति गर्न नसक्नु, शिक्षकहरुको माग सम्वोधन गर्न नसक्नु, भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, आर्थिक चलायमान र सुशासन कायम गर्न नसक्नु त्योभन्दा लाजमर्दो के हुन सक्छ भन्दै गणतन्त्र विरोधीहरु जुर्मुराउन थालेका छन् । त्यसले गर्दापनि केपी ओली सरकारलाई चारैतिरबाट घेराबन्दीमा पार्ने काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *