काठमाडौं । यतिेबला मुख्यसचिव एकनारायण अर्यालले तीनै तहका कर्मचारीलाई टेर्न छाडेका छन् । कर्मचारीलाई अपहेलना गरेकै कारण प्रदेश र स्थानीय तहका कर्मचारीहरु मुख्यसचिव अर्यालसँग असन्तुष्ट बन्दै गएका छन् । कर्मचारी प्रशासनलाई नियन्त्रण गर्न नसकेको आरोप मुख्यसचिवलाई लाग्दै आएको छ । अर्यालले कसैलाई लाखा र कसैलाई पाखा गरेको आरोप रहेको छ ।
क्षमता, योग्यता र दक्षताको मूल्याङ्कन नगरी आफ्ना आसेपास र जिल्लावासीहरुलाई मालदार अड्डामा सरुवा गरेर अवसर दिएको आरोप मुख्यसचिव अर्यालमाथि लागिरहेको छ । त्यसैगरी गृह, परराष्ट्र, सामान्यलगायत मन्त्रालयका सह–सचिवहरुलाई कामको जिम्मेवारी नदिएर बरन्डामा थन्क्याइराखेको आरोप पनि उनीमाथि त्यत्तिकै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिनियर सचिवहरुलाई पन्छाएर कनिष्ठ अर्याललाई विश्वास र भरोसाको आधारमा मुख्यसचिवमा नियुक्ति गरेका थिए ।
तर, मुख्यसचिव अर्यालले त्यसअनुरुप काम नगर्दा प्रधानमन्त्री ओली नै असन्तुष्ट बन्न पुगेका छन् । अर्यालले कतिपय नीतिनियमको उलंघन गर्दै आफूखुसी चल्ने गरेको आरोप अर्यालमाथि लाग्न थालेको छ । मुख्यसचिवकै कारण कर्मचारीतन्त्र दिनप्रतिदिन निकम्मा बन्दै गएको छ । महत्वपूर्ण निर्णयहरु समयमा गर्न नसक्दा सरकार नै बद्नाम हुन पुगेको अवस्था छ ।
त्यसैगरी धितोपत्र बोर्डको अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा पनि व्यापक चलखेल गरेको आरोप मुख्यचिव अर्यालमाथि लागेको थियो । यता भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्रालयका सचिव अर्जुन पोखरेल वैशाख २ गते जागिरबाट अवकास प्राप्त भएका छन् । सो मन्त्रालयमा नयाँ सचिव नियुक्ति गर्नको लागि मुख्यचिव अर्यालले चलखेल गरेको आरोप लाग्न थालेको छ । हिजो अर्यालयलाई मुख्यसचिव बनाउन जसरी प्रधानमन्त्री ओली लागिपरेका थिए । तिनै मुख्यसचिव अर्यालले अहिले प्रधानमन्त्री ओलीलाई गुमराहमा पार्दै लगेको स्रोतको भनाइ छ ।