काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे छलफल भएको छ ।
अर्थतन्त्रलाई लयमा ल्याउने गरी आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव सत्तारुढ दलका नेताहरूको रहेको छ । समग्रमा बसइँसराइ रोक्नका लागि पहाड केन्द्रित रोजगारी, कृषि विकास र पशुविकासका कार्यक्रमहरू अगाडि बढाउने विषयमा पनि सुझाव आएको हो ।
बैठकमा खास गरी लोकतन्त्रलाई थप सुदृढ गर्ने र यसमाथि विभिन्न कोणबाट भइरहेका हमला र आक्रमणलाई सामूहिक रूपमा जवाफ दिने विषयमा छलफल भएको छ ।
विकास निर्माणलाई प्रभावकारी बनाउन आयोजनाहरूलाई उच्च प्राथमिकीकरण गर्नुपर्ने विषयमा बैठकमा सहभागी नेताहरूबाट सुझाव आएको छ । आयोजनाहरू अत्यन्त धेरै छरिएको र स्रोतहरूको एक किसिमले अपव्यय भइरहेको अवस्थालाई अन्त्य गर्नुपर्छ सुझाव पनि आएको बताइएको छ ।
समग्रमा विगत वर्षको भन्दा मेजर ब्रेक थ्रु हुने गरी नीति तथा कार्यक्रम आओस् भनेर नेताहरूले सुझाव दिएका छन् ।